जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका समानुपातिक सांसदहरु धमाधम पार्टी बदलिदै छन् । गएको एक सातामा जसपाका तीन जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यले पार्टी छाडेका छन् । जसपा नेपालकी नेतृ अमृता अग्रहरी एमालेमा प्रवेश गरेकी छन् ।

आइतबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा अग्रहरी एमालेमा प्रवेश गरेकी हुन् । अग्रहरीलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका छन् । अग्रहरी प्रतिनिधिसभा सदस्य हुन् । यसअघि जसपा सांसद रेणुका गुरुङ राप्रपामा प्रवेश गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गुरूङले राप्रपा प्रवेश गरेका हुन् ।

यसअघि जसपाका प्रतिनिधिसभा सदस्य रुही नाज पनि एमाले प्रवेश गरेकी थिइन् । हालसम्म जसपाका दुई प्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य एमाले प्रवेश गरिसकेकी छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा लागेकी अग्रहरी जसपाबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । यसअघि शुक्रबार साँझ जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य डा. रिना यादवले एमाले प्रवेश गरेकी थिइन् ।

डा. यादवले पनि अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा लगाएर एमाले प्रवेश गरेकी हुन् ।

केही दिन अघि मात्रै मधेश प्रदेश विकास समिति सभापति भएकी डा. रिना एकाएक जसपा छाडेर एमालेतिर गएकी हुन् । गएको भदौ २७ गते जनकपुरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुही नाज र प्रदेशसभा सदस्य अंजु यादवले एमाले प्रवेश गरेकी थिइन् । एमाले प्रवेश गरेकी प्रतिनिधि र प्रदेशसभा सदस्यहरु समानुपातिकबाट चुनिएका हुन् । समानुपातिकमा नदोहोरिने सम्भावना देखेपछि उनीहरु पार्टी बदलेका हुन् । पार्टी छाड्ने सबै महिला सांसदहरु छन् ।

सम्बन्धित खवर