काठमाण्डौ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि दलहरुले मंगलबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने हो । उक्त सूची बुझाउन असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेकाले पहिलो दिन ठूला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ ।
आयोगले सो प्रणालीका लागि सचिव गोकर्णमणि दुवाडीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार मात्रै बुझाउने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी(जसपा), नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लगायतका दलले सोमबार मात्रै बन्दसूची बुझाउने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार बुझाउने भएको छ । पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार बुझाउने जसपा मधेश प्रदेश समिति उपाध्यक्ष शेषनारायण यादवले बताए ।
उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिएको र भोली आयोगमा सूची बुझाइने बताए । पार्टीकातर्फबाट प्रतिनिधिसभाकाका लागि एक सय १० जना र सातवटै प्रदेशको बन्द सूची आयोगमा पठाइने छ ।
उम्मेदवारको सूची तयार गर्न जसपाको भदौ ३१ र असोज १ गते कार्यकारिणी समितिको बैठक बसेको थियो भने भदौको २९ र ३१ गते संसदीय बोर्डको बैठक भएको थियो ।
यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि समानुपातिक उम्मेद्वारको बन्द सूची सोमबार आयोगलाई बुझाउने भएको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार पार्टीको शीर्ष नेताको बैठकले समानुपातिक उम्मेद्वारको सूची तयार गरिसकेको छ ।
पार्टीका शीर्षस्त नेताको विभिन्न चरणको बैठकले छलफल गरी बन्दसूचीको नाममा सहमति भइसकेको लोसपाले जनाएको छ ।
सरकारले आगामी मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा गरी आवश्यक तयारी गरिरहेको छ ।
माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने भएको छ ।
नेकपा(माओवादी केन्द्र)को आइतबारको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिश भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ ।
माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ । जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ ।
नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको नाम तयार पारेको हो ।
यी नाम सोमबार निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको नाम प्रस्ताव गरेको छ । जसमा आदिवासी जनजातिबाट ३२ जना, खस आर्यबाट ३४ जना रहेका छन् ।
जसमा महिला र पुरुषको संख्या बराबर रहेको छ । त्यस्तै थारु समुदायबाट ४ महिला र ३ पुरुष गरी ७ जना, दलितमा ८ महिला र ७ पुरुष गरी १५ जना, मधेसीमा ९ महिला र ८ पुरुष गरी १७ जना र मुस्लिममा ३ महिला र २ पुरुष गरी ५ जना रहेका छन् ।
समग्रमा ५७ जना महिल र ५३ जना पुरुषको नाम समानुपातिक सूचीमा रहने उपमहासचिव गुरुङले बताए । एमालेले सातवटै प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची पनि तयार गरेको छ ।
समानुपातिकमा यसअघि समानुपातिबाट सांसद बनेका, प्रत्यक्षमा उम्मेदवार बनेका र स्थानीय तहमा उम्मेदवार बनेकालाई पनि अवसर नदिएको गुरुङले बताए । ‘अरु पार्टीबाट आएकाहरुको हकमा भने अलि लचिलो भएका छौं’ उनले भने । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ ।
समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न कांग्रेस केन्द्रीय संसदीय समितिमा छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा समितिका पदाधिकारीले छुट्टाछुट्टै क्लष्टरकारुपमा छलफल गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech