काठमाण्डौ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएका छन् । सोमबार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका दलहरूले समानुपातिक तर्फको उम्मेदवारहरूको सूची बुझाएका हुन् ।
उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समानुपातिक बन्दसूचीमा नेपाली कांग्रेस कार्यसमितिबाट पनि कतिपय सदस्यहरू रहेको बताए ।
निधि, चन्द्रमोहन र ढुंगाना समानुपातिक सूचीमा
कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधि, अनुशासन विभाग प्रमुख आनन्द प्रसाद ढुंगाना, केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका छन् । नेता निधिको धनुषा–३ बाट प्रत्यक्ष चुनाव लड्ने सम्भावना समाप्त भएको छ ।
धनुषा–३ बाट प्रत्यक्ष चुनाव नलड्ने घोषणा नेता निधिले केही दिन अगाडि नै गरिसकेका थिए । अन्य कुनै क्षेत्रबाट लड्ने बताएपनि नेता निधि प्रत्यक्षतर्पm सिफारिस नै भएका छैनन् ।
धनुषा–१ बाट प्रत्यक्षतर्पm सिफारिसमा परेका पूर्व सांसद आनन्द प्रसाद ढुंगाना फेरी समानुपातिक सूचिमा परेका छन् । २०७४ सालको चुनावमा पनि उनी समानुपातिकबाट सांसद चुनिएका थिए ।
निधि मधेसी क्लस्टरबाट र ढुंगाना खसआर्य कोटाबाट सिफारिस भएका छन् ।
आयोगले आइतबार र सोमबार गरी दुई दिन समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाउन समय दिएको थियो । सोही समयावधि भित्र राजनीतिक दलहरूले आफ्ना आफ्ना उम्मेदवारहरूको बन्द सूची आयोगमा पेस गरेका छन् ।
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायत दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech