जनकपुरधाम । तलबको माग गर्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरु सोमबारदेखि आन्दोलित भएका छन् ।
जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण नगरसभा नहुँदा तलब भत्ता नपाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् । उनीहरुले साउन र भदौको तलब तथा चाडपर्व खर्च अहिलेसम्म पाएका छैनन् ।
नगरपालिका मातहत रहेका शिक्षक, स्वास्थ्यकर्मी, पशु, कृषि तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुले चरणबद्ध आन्दोलन कार्यक्रम अन्तर्गत हातमा कालो पट्टी बाँधी सांकेतिक विरोध कार्यक्रम गरेका छन् ।
उनीहरुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत ४ र ५ गते पनि साँकेतिक विरोध कार्यक्रम अन्तर्गत हातमा कालो पट्टी बाँधी विरोध गर्ने तथा दिनको २ बजेपछि कार्यालय बन्द गर्ने कार्यक्रम तय गरेका छन् । त्यसपछि पनि माग संवोधन नभए पछि पूर्ण रुपमा कामकाज ठप्प गर्ने लगायतका कार्यक्रमहरु घोषणा गर्ने क्षीरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य संयोजक रामबहादुर यादवले जनाए ।
नजिकिदै गएको वडादशैंमा पनि तलब भत्ता पाउँने सम्भावना नदेखेपछि आपूmहरु आन्दोलन गर्न बाध्य भएको नगरपालिकाका शिक्षा अधिकृत दिपक खत्रीले बताए । नगरपालिका मातहतका सबै शाखाका प्रमुख ज्यूहरुले संयुक्त रुपमा तलब भत्ता समयमै उपलब्ध गराईदिन ज्ञापन पत्र समेत बुझाएका थियौं । तर, जनप्रतिनिधिहरुले आफ्नो राजनीतिक समस्यालाई लिएर हाम्रो तलब भत्ता उपलब्ध गराउन कुनै चासो नदिएपछि आन्दोलन गरेको उनले बताए ।
नगरपालिकाको नगरसभा असार १० गते समय मै शुभारम्भ भएपनि जनप्रतिनिधिहरुको विवादले गर्दा अहिलेसम्म सम्पन्न हुन सकेको छैन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech