जनकपुरधाम । विदेह नगरपालिका–५ योगियाडाकी ८ वर्षीया सोनाक्षी सिंह फर्र आप्mनो परिचयसहित सिकाइ उपलब्धी सुनाउछिन् । प्रावि योगियाडामा कक्षा ३ मा अध्ययनरत्त सोनाक्षी क देखि ज्ञ सम्म पढ्न थोरै समय खर्चिनुपरेको छ । उनी एबीसीडी र एकदेखि सयसम्म पनि आँखा चिम्लेर सुनाउँछिन् ।
आधारभूत शिक्षाबाट समेत बञ्चित उनी उपचारात्मक कक्षा (रिमेडियल क्लास) गर्छिन् । योगियाडा विद्यालयमै बिहान ७ बजेदेखि ९ बजेसम्म उनी उपचारात्मक कक्षामा पढ्दै आएकी छन् । केही महिनादेखिको सिकाई उपलब्धी सोनाक्षीको पढाईमा देखिएको छ । उनीसँगै कक्षा ३ मै अध्ययनरत्त सारमा प्रवीण पनि अहिलेसम्मको सिकाई उपलब्धी गनाउँछिन् । दुई अक्षर र तीन अक्षरको शब्द भन्न प्रवीणले पनि समय लगाउँदैनन् । उनीहरुसहित २५ जना बालबालिकालाई उपचारात्मक कक्षामा समन्वयकर्ता रिना रामले पढाउँदै छिन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको सिकाई परियोजना अन्तर्गत विदेह नगरपालिकाको ८ र जनकनन्दनी गाउँपालिकाको ७ विद्यालयहरुमा अहिले उपचारात्मक कक्षा संचालनमा छ ।
दुवै पालिकाको १५ कक्षामा करिब चार सय बालबालिका लाभान्वित भएका छन् ।
सिकाई प्रक्रियामा पछाडि पर्न गएका विद्यार्थीहरूलाई लक्षित गरी विशिष्ट शैली तथा विधिको प्रयोगबाट उपचारात्मक कक्षा संचालन गरिएको हो ।
बालबालिकाहरुलाई टिचिङ एट द राइट लेवल(टीएआरएल) विधिबाट पठनपाठन गराइएको विदेह नगरपालिका–१ स्थित मावि ठाढीमा संचालित उपचारात्मक कक्षाकी समन्वयकर्ता रंजु देवी राउत बताउँछिन् ।
पढाईसँगै खेल खेलाएर बालबालिकालाई पढाउँदा बढी प्रभावकारी देखिएको रंजु बताउँछिन् ।
उपचारात्मक शिक्षणको ऐतिहासिक पृष्ठभूमि उत्तर अमेरिकाको स्वतन्त्रता आन्दोलनसँग जोडिएको छ । सत्रौँ शताब्दीको सुरुवातमा उच्च शिक्षा केन्द्रहरू आमनागरिकका लागि खुला गरिए तापनि सामान्य परिवारमा जन्मिएका युवाहरूले उत्कृष्टता हासिल गर्न सकेनन् र ई.सं. १६३० देखि उपचारात्मक शिक्षाको अभियान सुरु गरिएको थियो ।
यो पद्धति शैक्षिक न्याय स्थापनाका लागि एक महत्वपूर्ण सावित भएको छ । विशेषतः गरिबी, अभाव, वञ्चितीकरण, विभेद र कमजोर शैक्षिक एवं पारिवारिक पृष्ठभूमि भएका विद्यार्थी र सम्पन्न तथा सुविधाप्राप्त सूचना तथा सीपमा पहुँच भएका विद्यार्थीमाझ सिकाइने स्तरमा आउन सक्ने फरकपनालाई सम्बोधन गर्न उपचारात्मक कक्षा बढी प्रभावकारी भएको मानिन्छ ।
नेपालको सन्दर्भमा उपचारात्मक शिक्षण सिकाइको आवश्यकता र अभ्यास अनौपचारिक रूपमा निकै लामो समयदेखि हुँदै आएको पाइन्छ । विद्यार्थीहरूलाई विशेष ट्युसन तथा कोचिङ कक्षाहरू सञ्चालन गर्ने, नजानेका विषयमा विद्यार्थीहरूले शिक्षकसँग थप वैकल्पिक समयमा सिक्ने वा कमजोर विद्यार्थीहरूलाई थप उपायहरूको अवलम्बन गर्न प्रेरित गर्ने अभ्यास नेपाली समाजमा पुरानै चलन हो, तर उपचारात्मक शिक्षण सिकाइको व्यवस्थित र प्रभावकारी रूपमा नियमित शिक्षण सिकाइ कार्यक्रमको अङ्गका रूपमा अभ्यास हुन थालेको करिब आधा दशक मात्र भएको छ ।
विद्यार्थीहरूमाझ समान अवसर प्रदान गर्न, प्रगतिदर बढाउन तथा शिक्षाको गुणस्तरीयता कायम गर्न उपचारात्मक कक्षा महत्वपूर्ण रहेको आसमान नेपालका फिल्ड सुपरभाइजर विजय सदायले बताए । जनकनन्दनी गाउँपालिकामा संचालनमा रहेको उपचारात्मक कक्षाले बालबालिकालाई आधारभूत शिक्षा हासिल गर्न सहयोग पुगेको फिल्ड सुपरभाइजर अम्बिका यादवले बताइन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech