हरिवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दलले स्वस्थ यूवाहरुलाई बेचेर देश चलाइ रहेको आरोप लगाएका छन् ।
मंगलबार सर्लाहीको हरिवनमा भएको बृहत पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै लिङदेनले सो कुरा बताएका हुन् । उनले आफूलाई ठूलो पार्टी भन्नेहरुले गरिब जनताको छोराछोरीले दुःखले कमाएर पठाएको रेमिट्यान्सको पैसाले मोज गरिरहेको आरोप लगाए ।
युवालाई विदेश जान बाध्य बनाएर अहिले देशलाई रोगी र बृद्धबृद्धाको आश्रम बनाएको उनले तर्क गरे । ठूला पार्टीका नेताहरुले गर्दा नै देशमा बेरोजगारी, भ्रष्टचार र बेथिति बढेको राप्रपाका अध्यक्ष लिङदेनको भनाई छ ।
सर्लाहीबाट जितेर गएका सांसद मन्त्री र उच्च ओहदामा पुग्दा पनि सर्लाहीको विकासको नाममा सिन्को नभाँचेको भन्दै आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा राम्रा उम्मेदवार पहिचान गरेर मात्रै मतदान गर्न सर्लाहीवासीलाइ लिङदेनले आग्रह गरे ।
राप्रपा सर्लाहीका अध्यक्ष सत्यनारायण रायको अध्यक्षतामा हरिवनस्थित सूर्ति विकास खेल मैदानमा आयोजित आमसभामा पार्टीले गाउँ–गाउँबाट कार्यकर्ता उतारेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech