हरिवन । सर्लाहीको परवानीपुर देउरालीबाट घारिबथानतर्फ जाँदै गरेको म्याजिकलाई फूलजोर खोलामा आएको बाढीले बगाएको छ ।

डिसहोमका कर्मचारी मर्मतको काम गर्दै हिँडिरहेका बेला लालबन्दी नगरपालिका १५ परवानिपुर देउरालीबाट ईश्वरपुर नगरपालिका १२ घारिबथानतर्फ जान खोज्दा फूलजोर खोलामा आएको बाढीले उनीहरु सवार बा १९ च ९६६० नम्वरको म्याजिक बगाएको हो । माथि चुरे डाँडातिर ठूलो पानी पर्नासाथ खहरे खोलामा दिउँसो ३ बजेतिर एक्कासी बाढी आएको थियो ।

डिसहोमको म्याजिक झण्डै दुई सय मिटरजति बगाएर घारिबथान र देउरालीका मानिसले शव जलाउने चिताघर नजिकै पुर्याएको घारिबथानका स्थानीय चन्द्र कार्कीले जानकारी दिए । खोलाले गाडी बगाउनासाथ भित्र रहेका चालकसहित ३ जनाले भने तत्कालै भागेर ज्यान जोगाएका कार्कीले बताए ।

खोलामा बाढी कम भएपछि गाडी ट्याक्टरको सहयोगमा खोलाबाट निकालेर घारिबथानस्थित चाकलटोलमा लगी राखिएको छ । लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने सो स्थानमा पुल नहुँदा स्थानीय खोला बाढीमा हेलिएरै वारपार गर्न बाध्य छन् ।

अरु बेला पानी नै नहुने भएपनि बर्खाको बेला त्यहाँ पानी पर्नासाथ ठूलो बाढी आउने गरेको छ । सर्वसाधाराले जसोतसो खोला तरेपनि सवारी साधन वारपार गराउन भने समस्या हुने गरेको छ ।

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग