जनकपुरधाम । सञ्चार उद्यमी अरूण सिंघानिया हत्या मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ । बुधबार न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैध र डालकुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको उच्च अदालतका रजिस्टार खड्गराज अधिकारीले बताए ।
उनका अनुसार जाहेरीवालाको तर्फबाट सरकारी वकिल कार्यलयबाट सहन्यायाधीवक्ता यदुनाथ शर्मा, विपिन कुमार झा, हेमबहादुर कार्की र राजलाल यादवले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट श्याम मिश्र, सुरेन्द्र महतो, प्रकाश कुमार घिमिरे, ओमप्रकाश सिंह र धर्मेन्द्र शर्माले बहस गरेको थिए ।
२०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपित सञ्जय साह र मनक लामालाई जन्मकैदको फैसला सुनाएको थियो । यसैगरी रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनी, चन्द्रदीप यादव र पवन लामालाई १० वर्ष सजाय तोकेको थियो । उच्च अदालतले सोही फैसलालाई सदर गरेको हो ।
सिंघानियाको २०६६ साल फागुन १७ गते होलीका दिन गोली हानी हत्या भएको थियो । हत्या भएको १० वर्षपछि जिल्ला अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढेको थियो । २०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपित सञ्जय साहलाई जन्मकैद फैसला सुनाएको थियो । साहले सो फैसलाविरुद्ध २०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन दिएका थिए । साह अहिले नख्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् । साहलाई २०७१ वैशाखमा प्रहरीले पक्राउ गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech