जनकपुरधाम । पूर्व राष्ट्रपति डा.रामवरण यादवले सदनबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको उल्लङ्घन गरेको बताएका छन् ।

जनकपुरधामस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको भवन निर्माण एवम् परिसर सुधार कार्यको बुधबार शिलान्यास गर्दै उनले राष्ट्रपतिको कदमलाई असंवैधानिक बताए । उनले लोकतन्त्रलाई अगाडि बढाउनका लागि जनताको प्रतिनिधिबाट निर्मित संविधानको सबैले पालना गर्नुपर्ने बताए ।

डा. यादवले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक संस्थाले संस्थाको मर्यादा विपरित काम गर्न नहुते तर्क उनको थियो । संविधानको पालना गर्नु हामी सबैको कर्तव्य हो । प्रधानमन्त्रीबाट दुई दुई पटक संसद् विघटन हुनु संविधान उल्लङ्घनको प्रत्यक्ष उदाहरण थियो । यस प्रकारको घटना पटकपटक घट्नुले प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्ने भएकोले यस प्रकारका घटना हुन नदिनका लागि हामी सबै सचेत हुन जरुरी छ ।’’

पूर्व राष्ट्रपति यादवले तराई मधेशको शिक्षा र स्वास्थ्य क्षेत्र कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि समुदायले नै अपनत्व ग्रहण गरेर सुधार गर्नु जरुरी भएको बताए ।

उनले सरस्वती नमुना माध्यमिक विद्यालयमा पढेका विद्यार्थी देशको विभिन्न शीर्ष स्थानमा पुगे पनि विद्यालयको अवस्थामा सुधार नआएकोमा दुःख व्यक्त गरे । उनले भवन निमार्णका लागि सङ्घ सरकारबाट आएको रकमको सदुपयोग गर्नसमेत अनुरोध गरे ।

कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरीले जनकपुरधामलाई सांस्कृतिक हिसाबमा विश्व समाजमा स्थापित गर्नका लागि यसलाई जानकी जन्मिएको ठाउँको रूपमा विकास गर्न आवश्यक भएको बताए । उनले विगतको जनकपुर र अहिलेको जनकपुरधाममा धेरै परिवर्तन भएको भन्दै जनकपुरधामको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले भ्याटसहित १० करोडको लागत अनुमानमा निमार्ण हुन लागेको विद्यालयको नौ वटा कोठा भएको दुई तल्ले भवन १५ महिना भित्रमा सक्न ठेकेदारलाई आग्रह गरे ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहको अध्यक्षतामा भएको कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रमेश सिंह, वरिष्ठ पत्रकार राजेश्वर नेपाली सहितको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर