जनकपुरधाम । धनुषाको विदेह र जनकनन्दनी पालिकाको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढ्दै गएको छ ।
शैक्षिक वातावरण कायम भएपछि बालबालिका पनि विद्यालय आउन इच्छुक देखिएका छन् ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर उकास्न धनुषाको विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकामा सिकाई(लर्न) परियोजना संचालन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको यो कार्यक्रमअन्तर्गत छनौट भएका विद्यालयलाई विशेष सामग्रीको व्यवस्था गरी शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न सहयोग गरेको छ । दुवै पालिकाको डेढ दर्जन सामुदायिक विद्यालयमा उक्त परियोजना अन्तर्गत विभिन्न शैक्षिक सामग्री, भौतिक पूर्वाधार मर्मत सम्भार गरेर बालबालिकाको लागि शैक्षिक वातावरण कायम गरिएको हो ।
जमिनमुनी बसेर पठनपाठन गर्न बाध्य बालबालिकाको लागि कार्पेट, फर्निचर लगायतको सामग्री व्यवस्थापन गरिएपछि उनीहरुको पढाईप्रति चासो बढेको छ ।
केही वर्ष अगाडिसम्म खस्कदोँ अवस्थामा रहेको विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर क्रमागत रूपमा सुधार भइरहेको मावि गिद्धा बेलापट्टीका प्रधानाध्यापक पवन मण्डलले बताए ।
मण्डलले आसमान नेपालप्रति आभार प्रकट गर्दै विद्यालय व्यवस्थापनमा यसरी नै सहयोगी भूमिका निर्वाह गर्नको लागि आग्रह गरे ।
बालविकास कक्षा व्यवस्थापनमा आसमान नेपालले विभिन्न सामग्री उपलब्ध गराउनुका साथै कक्षाकोठा रंगरोगन, भ्mयाल ढोका मर्मत सम्भार लगायतको काम गरेको छ ।
विद्यालय व्यवस्थापनमा भएको सुधारका कारण नमूना विद्यालयको रूपमा छनोट भएको भन्दै प्रअ मण्डलले खुसी व्यक्त गरे । विद्यालयको गुणस्तर अब विद्यालयले गुरुयोजना निर्माण गरी भौतिक विकासतर्फ भवन निर्माण, छात्राबास निर्माण, नतिजा सुधार गर्दै अगाडि बढ्ने प्रअ मण्डलले बताए ।
सरकारले सामुदायिक विद्यालको गुणस्तर खस्किंदै गएको ठहर गर्दै विद्यालयहरूलाई नमूना विद्यालयको रूपमा विकास गर्न लागिपरेको बेला आसमान नेपालले पनि सरकारलाई सघाउने कार्य गरेको छ ।
परियोजना लागू भएको विद्यालयहरुमा बालबालिकालाई खेलकूद सामग्रीसहित अभिभावकहरुलाई समेत अभिमुखिकरण गरिएको छ । जसका कारण अभिभावकहरु बालबालिकालाई विद्यालय पठाउन अग्रसर भएको मावि गिद्धा बेलापट्टीका प्रअ मण्डलले थपे । विद्यालयमा पठनपाठनसँगै सरसफाईलाई समेत प्राथमिकतामा राखेर परियोजना संचालन गरिएको आसमान नेपालका कार्यक्रम संयोजक संजीव साहले बताए ।
शौचालय व्यवस्थापन, खानेपानीको प्रबन्ध मिलाएर विद्यालयमा शैक्षिक वातावरण कायम गर्न लागिएको कार्यक्रम संयोजक साहले बताए ।
सामुदायिक शिक्षाका हकमा कुनै एउटा पक्ष मात्र जिम्मेवार भएर गुणस्तर कायम हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिने अवस्था छैन, प्रअ मण्डलले भने–यसका लागि सामूहिक प्रयासको आवश्यकता देखिन्छ । शिक्षा क्षेत्रमा सरोकारबाला क्षेत्रसँगै अभिभावकले पनि गंभिरतापूर्वक चासो राख्नको लागि प्रअ मण्डलले सबैमा आग्रह गरे ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech