जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा मधेस प्रदेशका राजधानी जनकपुरसहित विभिन्न ठाउँहरुमा प्रदर्शन गर्दै पुत्ला दहन गरेको छ । जनता समाजवादी पार्टी(जसपा) ले बुधबार जनकपुरमा विरोध प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुतला दहन गरेको छ ।

जनकचोकमा जसपाका केन्द्रीय सदस्य लालकिशोर साह, प्रदेश सचिव जीतेन्द्र यादव, नगर अध्यक्ष विष्णुदेव साह लगायत युवाहरुले विरोध प्रदर्शन गर्दै पुतला दहन गरेको हो ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै चक्काजाम गरेको छ ।

लोसपा धनुषाका कार्यकर्ताहरुले पिडारी चौकमा एक घण्टा चक्का जाम गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै चर्को नाराबाजी गर्दै लोसपाका कार्यकर्ताहरुले चक्का जाम गरेको हो । लोसपा धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले मधेशी जनतालाई राज्यले विना आन्दोलन कुनै अधिकार कहिले नदिएकोे बताए ।

राष्ट्रपतिले दुबै सदनबाट दुई पटक पारित विधेयकलाई प्रमाणीकरण नगरेर राष्ट्रपति पदको समेत दुरुपयोग गरेको उनले बताए ।

यस्तै, तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) ले पनि राष्ट्रपति भण्डारीको कदम विरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ ।

तमलोपाका नेता कार्यकर्ताले राष्ट्रपति भण्डारीको राजिनामा माग्दै जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् ।

यस्तै बुधबार बिहानैदेखि जनमत पार्टीका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शनमा उत्रेका जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति भण्डारी बिरुद्ध नाराबाजी गरेका छन् । जनमत पार्टीले राष्ट्रपतिको असंवैधानिक कदमको विरोधमा मधेशका जिल्लामा पहिलो दिन राजमार्ग अबरुद्ध गरी प्रदर्शन गरेको छ ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कसहा र मिर्चैयामा प्रदर्शन गरेको छ । भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग अबरुद्ध गरेका थिए । सवारीसाधन आवागम ठप्प भएपछि प्रहरीले हस्तक्षेप गरेर राजमार्ग खुलाएको थियो ।

नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरुले वीरगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ । वीरगञ्ज महानगर कमिटीले बुधबार दिउसो राष्ट्रपति भण्डारी विरूद्ध प्रदर्शन गर्दै उनको पुतला दहन गरेको हो । आदर्शनगरमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले विज्ञप्ती निकालेर राष्ट्रपतिको कदमले संघियलोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्दै नया तानाशाही व्यवस्थाको जन्म दिने कमद भएको ठहर गरेको छ । असंवैधानिक कदम बिरुद्ध एक जुट हुन विज्ञप्तीमा आग्रह गरेको छ ।

सम्बन्धित खवर