जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीको अंसवैधानिक कदम विरुद्ध दोश्रो दिन बिहीबार पनि मधेशवादी दलहरुले चक्काजाम र प्रदर्शन गरेका छन् । मधेश प्रदेशका राजधानी जनकपुरधाममा बिहीबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीको विरोधमा जसपाका नेता कार्यकर्ताहरूले स्थानीय जनकचोकमा धर्ना बसेर विरोध प्रदर्शन गरेका हुन् ।
जसपाका नेता कार्यकर्ताहरु जनकचोकमा सडकमा बसेर केहीबेर चक्काजाम समेत गरेका थिए ।
जसपाका जनकपुर नगर कार्य समिति अध्यक्ष विष्णुदेव साहले राष्ट्रपतिको असंवैधानिक कदमकाविरुद्ध आफूहरूले विरोध प्रदर्शन गरेको बताए ।
उनले राष्ट्रपति भण्डारीले संविधानलाई अवज्ञा गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । जसपाका नेता ज्ञानेन्द्र कुमार यादव, मधेश प्रदेश समिति सचिव जीतेन्द्र यादव, नविन यादव, युवा नेता दिपेन्द्र कापर, विद्यार्थी नेता बलिराम कापर लगायतको सहभागीतामा राष्ट्रपति भण्डारी विरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै जसपासहित मधेशवादी दलहरू बुधबारदेखि नै सडकमा उत्रेका छन् ।
प्रतिनिधिसभाले दोश्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि बुधबार पुतला दहन लगायको विरोध कार्यक्रम गरेका थिए ।
यता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता कार्यकर्ताहरूले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् ।
लोसपाका युवा नेताहरुले बिहीबार दोस्रोपटकमा पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै लोसपाका नेता कार्यकर्ताहरूले स्थानीय भानुचोकमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन् ।
लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिको असंवैधानिक कदमकाविरुद्ध आफूहरूले उनको पुत्ला जलाएको बताए । उनले राष्ट्रपति भण्डारीले संविधानलाई अवज्ञा गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जिकिर गरे ।
लोसपाका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीको राजीनामासमेत माग गरेका छन् ।
राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरू बुधबारदेखि नै आन्दोलित भएका छन् । यसअघि लोसपाको नेता कार्यकर्ताहरूले बुधबार स्थानीय पिडारीचोकमा चक्काजाम गरेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech