जनकपुरधाम । नेपालीहरुको महान चाड वडादशैंको मुखमा धनुषाका स्थानीयतहमा कार्यरत्त कर्मचारीहरु तलबको माग गर्दै संघर्षमा उत्रेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका लगायतको पालिकामा कार्यरत्त कर्मचारीहरुको दशैंमा तलब खाने सम्भावना न्युन छ ।
तलबको माग गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरु बिहीबार कार्यालयमा धर्ना बसेका छन् ।
गएको आइतबारदेखि कर्मचारीहरु तलबको लागि संघर्षमा उत्रेका हुन् ।
जनप्रतिनिधि बीच राजनीति इगोका कारण नगरसभा नहुँदा कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।
२०७९ असारपछि तलब नपाएपछि कर्मचारीहरु संघर्षमा उत्रिन बाध्य भएका हुन् ।
नगरपालिका मातहतका शिक्षक, स्वास्थ्यकर्मी, पशु, कृषि तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुले चरणबद्ध संघर्षका कार्यक्रमहरु गर्दै आएका छन् ।
जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारी दशैं जस्तो चाडमा तलबबाट बंचित हुनुपरेको स्वास्थ्य संयोजक रामबहादुर यादवले जनाए ।
दशैंमा पनि तलब भत्ता पाउँने आशा नपाएपछि हामीहरु आन्दोलन गर्न बाध्य भएको नगरपालिकाका शिक्षा अधिकृत दिपक खत्रीले बताए ।
नगरपालिका मातहतका सबै शाखाका प्रमुख ज्यूहरुले संयुक्त रुपमा तलब भत्ता समयमै उपलब्ध गराईदिन ज्ञापन पत्र समेत बुझाएका तर, जनप्रतिनिधिहरुले राजनीतिक इगोलाई लिएर तलब भत्ता उपलब्ध गराउँनमा चासो नलिएको उनले आरोप लगाए ।
नगरपालिकाको नगरसभा असार १० गते शुभारम्भ भएपनि जनप्रतिनिधिहरुको विवादले गर्दा अहिलेसम्म सम्पन्न भएको छ्रन् ।
आफूहरु अल्पमतमा रहेको र विपक्षीहरु बहुमतमा रहेको हुँदा नगरसभा गर्न नसकिएको नगर प्रमुख सुखदेव यादवले बताए ।
कार्यपालिकामा १७ जना कांग्रेसका छन्, उनले भने–आपूmहरु तीन जना हो । कर्मचारीको तलबको लागि पनि माइन्युटमा हस्ताक्षर गर्न भनेपनि उनीहरुले अस्वीकार गरेपछि समस्या भएको नगर प्रमुख यादवले बताए ।
कर्मचारीहरुले समयमा तलब भत्ता खान नसकेको जिम्मेवारी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधहरुले लिनुपर्ने तर्क नगर प्रमुख यादवको छ ।
उपप्रमुखसहित आठ वटा वडा जितेको कांग्रेसले सहयोग नगर्दा नगरपालिकामा बेथिति देखिएको उनले जिकिर गरे ।
बजेट पारित नहुँदा नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई चाडपर्वमा समेत तलबभत्ता नखुवाउन सक्ने अवस्था सृजना भएको बताए ।
नगरसभा नहुँदा अहिले सम्म खाता संचालन हुन पाएको छैन, खाता संचालन नहुँदा अहिले इन्धन समेत उधारोमा उपलब्ध नहुने अवस्था रहेको यादवले पीडा पोखे ।
इन्धनको समस्याले नगर भित्रको फोहोर उठाउनेदेखि, एम्बुलेन्स, बारुणयन्त्र संचालन समेत अवरुद्ध भएको छ । इन्टरनेट सेवा प्रदायकलाई भुक्तानी गर्न नसक्दा अहिले इन्टरनेट सेवा समेत अवरुद्ध भएकोले मालपोत लगायतका राजश्व संकलन हुन सकेको छैन् ।
सभा नहुँदा ३ करोड घाटा
क्षीरेश्वरनाथ नगरपालिकाको आन्तरिक श्रोत बजार ठेक्का र बालुवागिट्टीको ठेक्का असोज १ गतेदेखि सम्झौता गरिसक्ने गरी ठेक्का लगाउनु पर्ने भएपनि हालसम्म हुन सकेको छैन् ।
यसले नगरपालिकालाई करिब वार्षिक ३ करोड घाटा लाग्ने अवस्था देखिएको यादवले बताए । त्यसैगरी नगरपालिका मातहत रहेको चोक बजारको ठेक्का बन्दोबस्त समेत हुन नसकेको नगर प्रमुख यादवले गुनासो पोखे ।
सभा नहुँदा नगरपालिकाबाट समाजिक सुरक्षा भत्ता वितरण समेत हुन सकेको छैन् ।
समाजिक सुरक्षा भत्ताको लागि नविकरण र नयाँ दर्ताको आवेदन लिने कार्यसमेत प्रभावित भएको छ ।
अल्पमतमा प्रमुख
क्षीरेश्वरनाथ नगरपालिकासँगै नगराइन र लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख अल्पमतमा छन् । पालिका प्रमुख अल्पमतमा हुँदा उपप्रमुखले सभामा बखेडा झिकेका छन् ।
नव निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हाले लगत्तै सिफारिस दस्तुरहरु छुट गरेपनि कार्यपालिकाबाट पारित नहुँदा लागू हुन सकेको छैन् ।
गत आवमा उपभोक्ता समिति मार्फत सम्पन्न योजनाको भुक्तानी समेत फसेको छ ।
जनताको काममा अल्पमत बहुमतको खेल छाडेर सबै जनप्रतिनिधि मिलेर अघि बढनको लागि नगर प्रमुख यादवले आग्रह समेत गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले आफूले दुबै पक्षलाई एकै ठाउँमा राखेर वार्ताको माध्यमबाट सहमति गराउने प्रयास गरेपनि निष्कर्षविहीन रहेको बताए । दुबै पक्ष आ–आफ्नै अडानमा कायम रहदा छलफल निष्कर्षविहीन हुँदै आएको मिश्रले बताए ।
यता, नगराइन नगरपालिकाको सभाको लागि तोकिएको असोज ५ गते उद्घाटन सत्र गरिएको छ । तर, बजेट पारित हुने छाँट नदेखिएको नगराइन नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोले बताए ।
दशैं अगावै कर्मचारीले तबल भत्ता पाउने कुनै सम्भावना नदेखिएको उनले प्रष्टयाए । नगराइनमा प्रमुख कांगे्रसको छ भने उपप्रमुख नेकपा एमालेको छ । नगराइनमा बहुमत नेकपा एमालेको रहेको छ ।
नेकपा एमालेले नगर प्रमुखसित बार्गेनिङ गर्दा समस्या बल्झिदै गएको एक जनप्रतिनिधिले बताए ।
उनीहरुले नगर प्रमुखसित बराबरीको अधिकार खोजेपछि समस्या भएको उनले बताए ।
लक्ष्मीनियाँ गाउँपालिकामा गएको असार १० गते नै गाउँसभाको उद्घाटन सत्र भएपनि बजेट पारित हुन सकेको छैन् । लक्ष्मीनियाँ गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेसले जिते पनि बहुमत नेकपा एमालेको छ । सात वटा वडा रहेको लक्ष्मीनियाँका पाँच वडा जितेर नेकपा एमालेले बहुमत प्राप्त गरेको छ । कांग्रेस र जसपाले एक÷एक वडा जितेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech