वीरगञ्ज । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिलाई लिएर मधेश प्रदेशका उद्योगी व्यवसायी विरोधमा उत्रेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अगुवाईमा उद्योगी, व्यापारीहरुले बिहीवार वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

वीरगञ्जको मकालु चौकबाट हातमा कालो पट्टी बाँधेर शुरु भएको विरोध प्रदर्शन, ग्रिनसिटी चौक, घडिअर्वा, माईस्थान, आदर्शनगर हुँदै नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखामा पुगेर टुंगिएको थियो । प्रदर्शनमा सहभागी उद्योगी व्यवसायीहरुले ‘करदाताको रक्षा गर, बैंकको सेवा शूल्क घटाउ, कर्जा ब्याज दर घटाउ, गरी खान देउ’ लगायतका नारा अंकित प्ले कार्ड बोकेका थिए ।

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले १५ बुँदे मागसहित राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक राजनदेव भट्टराईमार्फत गर्भनरलाई ज्ञापन पत्र बुझाइएको नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्तीय तथा बीमा समितिका संयोजक अनिल अग्रवालले बताए ।

ज्ञापन पत्र बुझ्दै क्षेत्रीय कार्यालयका निर्देशक भट्टराईले महासंघ मधेश प्रदेशका मागहरु जायज रहेको बताए । साथै सकेसम्म छिटै गर्भनरसमक्ष पठाएर मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

महासंघले आयोजना गरेको चालू पुँजी कर्जा सम्बन्धि मार्ग दर्शन र निजी क्षेत्रको सरोकार विषयक अन्तरसंवादका क्रममा उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको मौद्रिक नीतिप्रति आक्रोश पोखेका हुन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी कर्जा मार्गदर्शन २०७९ का प्रावधानहरुप्रति आपत्ती जनाउँदै बरिष्ठ उद्योगी अशोक टेमानीले व्यवसायी पलायन गर्ने नीति यथाशीघ्र सच्याउनुपर्नेमा जोड दिए । यसअघि २४ सै घण्टा चल्ने उद्योग व्यवसाय राष्ट्र बैंककै नीतिका कारण बन्द अवस्थामा रहेको हुँदा आगामी दिनमा अरु व्यवसायी पनि पलायन हुन सक्ने अवस्था सिर्जना भएको उनले बताए ।

व्यवसायको प्रकृतिअनुसार फरक चालू पूँजी आवश्यक पर्ने भएकाले २ करोड रुपैयाँ भन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशत मात्रै गरिनु अव्यावहारिक भएको बताउँदै उनले भने, अब हामी के चिया पसल, पान पसल खोलेर बस्ने हो ? अधिकांश किसानहरुको बैंक खाता नहुँदा बैंकबाटै कारोवार गर्न नसकिएको बताउँदै टेमानीले ठूला उद्योग बन्द गर्ने नीति मान्य नहुने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ जनकपुरका उपाध्यक्ष अम्भु प्रसाद साह लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर