चुनावी तालमेल गर्न लोसपाको वार्ता समिति गठन
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ नेकपा एमालेसहित अन्य दलसँग तालमेल र सहकार्य गर्न समिति गठन गरेको छ ।
बरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।
महतो संयोजक रहेको सो समितिको सदस्यहरुमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल रहेका छन् ।
लोसपा अध्यक्ष महन्त ठाकुरले बरिष्ठ नेता महतोलाई पठाएको पत्रमा अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ नेकपा एमाले लगायतका अन्य विचार मिल्ने पार्टीहरुसंग सहकार्य गर्न यो समिति गठन गरिएको उल्लेख गरेका छन् ।
नागरिकता विधेयकका कारण एमालेलाई मधेसमा एक्ल्याउने प्रयास भइरहेका बेला मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टीले आगामी चुनावमा एमालेसँगै तालमेलको प्रयास थालेको छ । पाँच दलीय सत्ता गठबन्धनमा सामेल हुनको लागि पटक पटक गरिएको प्रयास सफल नहुँदा लोसपाले नेकपा एमालेलाई विकल्पको रुपमा देखेको छ ।
पाँच दलीय गठबन्धनले सीट बाँडफाँटमा लोसपालाई भाग दिन नसकेपछि एमालेसँग चुनावी तालमेलको लागि छलफल अघि बढाउने निर्णय लोसपाले गरेको हो ।
लोसपाले एमाले लगायतका दलहरुसँग सहकार्य गर्न वरिष्ठ नेता महतोको संयोजकत्वमा समिति गठन गरेको छ । एमाले लगायतका विचार मिल्ने दल भनिए पनि लोसपाले बनाएको समिति मुलतः एमालेसँग तालमेलका लागि नै सक्रिय रहने श्रोतको दावी छ । पाँच दलीय गठबन्धनमा सामेल हुन लोसपा अध्यक्ष ठाकुरकै नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक भेटवार्ता भएपनि हालसम्म निष्कर्षमा पुग्न सकेको छैन् ।
कांग्रेसले वेटिङमा राख्ने रणनीति लिएको आशंका गर्दै लोसपाले नेकपा एमालेलाई प्राथमिकतामा राखेर आगामी चुनावमा प्रत्यक्षतर्पm तालमेल गर्न समिति गठन गरेको हो । समिति गठन भएसँगै पाँच दलीय गठबन्धनउपर समेत दबाब बढेको छ । लोसपालाई गठबन्धनमा नल्याए कांग्रेसको एमालेलाई एक्ल्याउने रणनीति असफल हुने सम्भावना बढेको छ ।
नेता शुक्ल यसअघि नै एमालेसँग तालमेलका लागि उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरुसँग संवादमा छन् ।
यसअघि प्रमुख सचेतक उमाशंकर अरगरियाको नेतृत्वमा अन्य दलसंग सहकार्य गर्न लोसपाले समिति गठन गरेको थियो । तर वार्ता टोलीका संयोजक अरगरिया शनिबार(आज) नेकपा एमालेमा प्रवेश गर्ने भएपछि लोसपाले महतोको संयोजकत्वमा नयाँ समिति बनाएको हो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech