अमेरिकामा हुने अस्कर अवार्डको ९५औं संस्करणका लागि नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ ’ऐना झ्यालको पुतली’ सिफारिस भएको छ।
सोमबार बसेको समितिको बैठकले प्राप्त फिल्म मध्येबाट सुजित बिडारीले निर्देशन गरेको फिल्म ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो।
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई गत भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो। उक्त सूचनाअनुसार दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’, सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ र सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए।
सहभागी तीन वटा फिल्म मध्ये ‘ऐना झ्यालको पुतली’ सबै पक्षमा उत्कृष्ट रहेको बताइएको छ।
‘यस समितिमा प्राप्त भएका तीन फिल्म मध्ये एकेडेमीको मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेका प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदिलाई मध्येनजर गर्दै अस्करको लागि फिल्म ‘ऐना झ्यालको पुतली’ छनोट गरिएको छ,’ विज्ञप्तीमा उल्लेख छ। यो वर्षको अस्कर अवार्ड मार्च १२ मा लस एञ्जल्सको डल्बी थिएटरमा आयोजना हुँदैछ।
नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ। समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन्।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech