जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार जनकपुरमा कालो झण्डा देखाएका छन् ।
शनिबार बिहान विमानस्थलबाट रेल्वे स्टेशन जाने क्रममा अध्यक्ष ओलीलाई संयुक्त विद्यार्थी मोर्चाका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएर विरोध गरेका हुन् ।
नागरिकता विधेयक प्रमाणीकरण नहुनुमा ओलीको भूमिका रहेको आरोप लगाउँदै विद्यार्थी नेताहरुले कालो झण्डा देखाएर विरोध गरेका हुन् । ओलीलाई कालो झण्डा देखाएको आरोपमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
समाजवादी विद्यार्थी यूनियनका धनुषा जिल्ला अध्यक्ष सुनिल मण्डल, उपाध्यक्ष सरोज यादव, सचिव बलिराम कापरी, सह–सचिव रहमत राइन, सदस्य रामभगत यादव, समाजवादी युवा संघ, कमला नगरअध्यक्ष रामकुमार साह, अखिल (एकीकृत समाजवादी) विद्यार्थी नेता आदर्श मण्डल तथा नेपाल विद्यार्थी संघका सदस्य चन्दन तिवारी लगायतलाई प्रहरीले कालो झण्डा देखाएको आरोपमा नियन्त्रणमा लिएका छन् ।
ओलीकै इशारामा राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता सम्बन्धी विधेयक दोश्रो पटक पनि प्रमाणीकरण नगरेको उनीहरुको आरोप थियो । राष्ट्रपतिको असंबैधानिक कदम विरुद्ध आपूmहरुको आन्दोलन जारी रहेको उनीहरुले बताए ।
यसअघि गएको भदौ २७ गते जनकपुर आउँदा पनि ओलीलाई कालो झण्डा देखाएर विरोध गरिएको थियो ।
रेल्वे स्टेशन नजिक कालो झण्डा देखाउने क्रममा नियन्त्रणमा लिएको विद्यार्थी नेताहरुलाई एक घण्टापछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech