जनकपुरधाम । शनिबार बिहानको रेल एक घण्टा ढिलो गरी जनकपुरबाट जयनगरको लागि प्रस्थान गर्यो । जनकपुर स्टेशनबाट रेल छुट्ने समय बिहान ११ः०५ रहेको छ । तर, शनिबार उक्त करिब सबा १२ मात्रै जनकपुरबाट जयनगरको लागि प्रस्थान गरेको हो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका नेता कार्यकर्ताको लागि शनिबार रेल एक घण्टा जनकपुर स्टेशनमा रोकिएको छ । एमाले अध्यक्ष ओलीलाई काठमाण्डौबाट जनकपुर विमानस्थल आउन ढिलाई भएको थियो । ढिलो गरी जनकपुर आइपुगेका ओली सहितका एमाले नेताहरुको लागि रेल रोकिएको थियो । अध्यक्ष ओलीसहित एमालेका नेता कार्यकर्ताको लागि पार्टीले एसी बोगीसहित दुई वटा बोगी बुक गराएका थिए ।
एसी र जनरल बोगी एमाले धनुषाले बुक गराएको थियो, रेल्वेका महाप्रबन्धक निरंजन झाले भने–उनीहरुको आग्रहमा रेल एक घण्टा स्टेशनमा रोकिएको थियो ।
अन्य बोगीमा भने आमनागरिकहरु सवार थिए । जनकपुरबाट महिनाथपुरसम्मको लागि एमालेले बुक गराए वापत एसीको नौ हजार आठ सय र जनरल बोगीको लागि तीन हजार १० रुपैयाँ तिरेको नेपाल रेल्वे कम्पनीले जनाए ।
एससहित ६ वटा बोगी रहेको नेपाल रेल्वेका चार बोगीमा सवार झण्ड करिब पाँच सय जना एमाले नेताका कारण एक घण्टा जनकपुर स्टेशनमा बस्न बाध्य भए । रेलमा अध्यक्ष ओलीसहित नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ, प्रभु साह, पोलिटव्युरो सदस्य जुली महतो लगायतका नेताहरु सवार थिए । उनीहरु महिनाथपुर स्टेशन पुगेर गाडि चढेर कार्यक्रम स्थल तिनकौरिया पुगेका थिए । नेकपा एमालेले शनिबार तिनकौरियामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरियालाई प्रवेश गराउन पार्टी प्रवेश कार्यक्रम गरेको थियो । तिनकौरियाबाट ओलीसहितका नेता कार्यकर्ता गाडि चढेर जनकपुरका फर्केका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech