हरिवन । सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका वडा नं. १२ मा पर्ने कालिन्जोरमा यही असोज १३ गतेदेखि १५ गतेसम्म प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो । आयोजक कालिन्जोर युवा समूहले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ ।

प्रतियोगितामा आयोजकसहित मधेश प्रदेशको आठै जिल्लाका टिम सहभागी हुने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ । वडा कार्यालयकै मैदानमा आयोजना हुने प्रतियोगिताको बिजेताले १ लाख १ हजार, उपबिजेताले ७५ हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष सुवास खड्काले बताए ।

गाउँमा रहेको मधेश प्रदेशकै अग्लो स्थानमा पर्ने पर्यटकीय स्थल राजारानी थुम्को, तुरतुरे झरना, पार्क, वनलगायत पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र खेलकै माध्यमबाट रमणीय क्षेत्रको रुपमा रहेको कालिन्जोरलाई देशैभरी चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष खड्काले बताए । प्रतियोगिता आयोजना गर्न १० देखि १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक भिमबहादुर खड्काले बताएका छन् ।

खड्काले विकट क्षेत्रमा आयोजना गर्न लागिएको यस प्रतियोगितालाई सफल बनाउन स्थानीयवासी, उद्योगी, व्यवसायीलगायत सबैसँग आग्रह गर्नुभएको छ । खेलकै माध्यमबाट गाउँमा रहेका विकृति बिसंगतीलाई हटाउँदै सबैबीच एकता, भाईचारा र सहकार्यको भावना विकास गर्न यति धेरै रकम सरसहयोग लिएरै प्रतियोगिता आयोजना गर्न लागिएको खड्काले बताए ।

 

जिल्ला भलिबल संघ सर्लाहीका अध्यक्ष रामाशंकर चौधरीले कालिन्जोरमा हुन लागेको प्रदेश स्तरीय यो प्रतियोगितापछि सर्लाहीमा भलिबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्रीले सबैको साथ र सहयोगले मात्रै प्रतियोगिता सफल रुपमा सम्पन्न हुने भएकाले यसका लागि सहयोग गरिदिन आग्रह गरे ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले प्रतियोगिताको बिजेता, उपबिजेता र तेस्रो हुने टिमका लागि तय गरिएको पुरस्कार रकमका लागि नगरपालिकाले सहयोग गर्ने बताए । मेयर आचार्यले पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताको यो वर्ष कालिन्जोर युवा क्लब आयोजक भएपनि अर्को वर्षबाट नगरपालिका आफै मुख्य आयोजक बनेर प्रतियोगितालाई निरन्तर अघि बढाउने प्रतियोगिता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा कालिन्जोरका अन्य अगुवा, भद्रभलादमी, युवा, भलिबल खेलाडीलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका प्रवक्ता जिवन शाशंकरले संचालन गरेका पत्रकार सम्मेलन कार्यक्रममा सह–आयोजक भिमेश्वर युवा क्लबका कार्यवाहक अध्यक्ष मधुमाया थिङ, आयोजक समितिका सदस्य भिषकुमारी विश्वकर्मा, वडा सदस्य दिनेश बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खवर