जनकपुरधाम । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले गरेको विकास देखेर मधेशमा पार्टी प्रवेशको लहर चलेको दावी गरेकाछन् ।

धनुषाको तिनकौरियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेशमा एमालेमा प्रवेशको लहर चलेको तर्क गरे ।

‘हामीले काम मात्रै ग¥यौं । हाम्रो काम देखेर तराई मधेशसहित पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पार्टी प्रवेशको लहर चलेको छ’ उनले भने ।

मधेश आन्दोलनको बेला तराई मधेशमा एमालेमाथि भ्रम फिजाएर प्रवेश निषेध गरेको बताउँदै उनले मेचीकाली अभियान चलाउँदा सप्तरीमा राज्यपक्षले गोली चलाएर नागरिकको हत्या गराएको आरोप लगाए ।

ओलीले भने ‘मेची महाकाली अभियानको क्रममा राज्य पक्षले गोली चलायो । हाम्रै नागरिक मारियो भनेर दुख लाग्यो । त्यो कार्यक्रम रोकेँ । मधेश प्रवेश कार्यक्रम स्थगित गरेँ’ उनले भने ।

ओलीले निर्वाचन पश्चात् एमालेको सरकार बने ५ वर्ष भित्र सुकुम्बासीको हरेक समस्या समस्या समाधान गर्ने दावी गरे । उनले सो अविधिमै प्रत्येक गरिब विपन्नलाई सुविधा सम्पन्न घर पनि बनाएर वितरण गर्ने आश्वासन दिए । उनले

सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गरेका थिए । छन् । उनलाई एमाले अध्यक्ष ओलीले गमछा र टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

अरगरिया धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

ओलीले गठबन्धन सरकारको अहंकारकै कारण नागरिकता विधेयक प्रमाणीकरण हुन नसकेको बताए ।

अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकमाथि सुझाब मागे पनि त्यस सम्बन्धमा संसदमा कुनै छलफल नै नगरी जस्ताको त्यस्तै पारित गरेर गठबन्धन सरकारले आफ्नो अहंकार देखाएको जिकिर गरे ।

उनले भने, ‘राष्ट्रपतिलाई विधेयकमा कहीँ कतै असन्तुुष्टि थियो भने संविधानको धारा ८१ बमोजिम सरकारले छलफल गर्न सक्थ्यो, तर त्यसो नगरी अहंकार देखाउँदै सरकारले राष्ट्रपतिको सुझाबलाई अस्वीकार गर्दै उनको अपमान गरेकोले विधेयक असफल हुन गयो, यसको सम्पूर्ण दोषी अहंकारवादी गठबन्धन सरकार हो ।’

नागरिकताको सवालमा नेकपा एमालेभन्दा बढी अन्य कुनै पनि पार्टीले लडाइँ नलडेको उनको दाबी थियो । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने माग एमालेको रहेको उनले बताए ।

अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकको सन्तानले नागरिकता पाउनुपर्छ भन्ने कुरामा सुरुदेखि नै नेकपा एमाले प्रयासरत रहेको र त्यसका लागि आफू प्रधानमन्त्री बनेको केही दिनमै नागरिकता विधेयक ल्याएको बताए । तर, गठबन्धन दलहरुले त्यसलाई असफल बनाउन संसदमा छलफल समेत गर्न नमानेपछि अन्ततः खारेज भएको उनले बताए ।

सम्बन्धित खवर