जलेश्वर । महोत्तरीमा घाँस काट्न गएकी महिलाको विभत्स हत्या गरिएको छ । जिल्लाको मटिहानी नगरपालिका १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारीकी अन्दाजी ४० वर्षीया पत्नी अमना खातुनको शव हत्या गरिएको अवस्थामा फेला परेको हो ।

शुक्रवार बिहान ११ बजेतिर घाँस ल्याउन भनि खेततिर गएकी अमिना साँझसम्म घर नफर्किएपछि गाउँलेको सहयोगमा परिवारले खोजी सुरु गरेका थिए ।

फेला नपरेपछि प्रहरी समेतको सहयोगमा खोजीलाई निरन्तरता दिएकोमा शुक्रबार राती करिव ११ तिर उनको शव फेला परेको हो ।

मृतक महिलाको घरबाट झण्डै एक किलोमिटर दुरीमा रहेको वस्ती भन्दा दक्षिण खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ । घटना स्थल सडक भन्दा भित्र रहेको प्रहरीको भनाई छ ।

घटना वारे जानकारी पाए लगतै घटना स्थल पुगेका मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले महिलाको विभत्स हत्या भएको बताउदै शव भरि रगत देखिएको र हरेक अंगमा चोटपटक जस्तो देखिएको बताए ।

जिउभरि निलडाम देखिएपनि हत्या बारे तत्काल बताउने अवस्था नरहेको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

घटना वारे अनुसन्धान सुरु भैसकेको र अनुसन्धान टोली घटनावारे विस्तृत तथ्य पत्ता लगाउन लागिसकेको बताए । मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन् ।

सम्बन्धित खवर