प्रअको निर्देशनमा विद्यालयमा मासु पाटी

जनकपुरधाम । बालबालिकाको दिवा खाजाको पैसाले धनुषाको औरही माविका शिक्षकहरुले भोज आयोजना गरेका छन् ।

औरही गाउँपालिका–४स्थित औरही माविमा गएको शुक्रबार दिवा खाजाको पैसाबाट मासु च्युराको भोज आयोजना गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र साहको निर्देशनमा बालबालिकाको दिवा खाजाको लागि छुटट्याएको पैसाले भोज आयोजना गरिएको हो ।

गत शैक्षिक सत्रमा संचालन गरिएको दिवा खाजा कार्यक्रमबाट बाँकी रहेको ३१ हजार रुपैयाँबाट गत शुक्रबार विद्यालयमै भोज आयोजना गरिएको दिवा खाजा व्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी शिक्षक शान्ति दासले बताइन् । आपूmलाई पनि रामभगत यादव र रामलाल सरले भोजमा सहभागी हुनको लागि निम्तो गरेको थियो, उनले भनिन्–तर, उक्त पैसाको भोज खान आपूmले अस्वीकार गरेको छु ।

गएको पुस ६ गतेदेखि संचालन गरिएको बालबालिका दिवा खाजा कार्यक्रम ४७ दिन संचालन गरिएको थियो । वार्षिक परीक्षापछि दिवा खाजा कार्यक्रम बन्द गरिएको थियो, शान्तिले भनिन्–कार्यक्रमको लागि पालिकाले एक लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

बालबालिका कुपोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित होऊन् भनी सरकारले दिवा खाजा कार्यक्रम २०७७।०७८ देखि देशभरका सामुदायिक विद्यालयमा लागू गरेको छ ।

सरकारले वर्षमा एक सय ८० दिनको लागि प्रति विद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

गएको भदौ २९ गते अभिभावकसहितको बैठकमा हिसावकिताब हुँदा ३१ हजार रुपैयाँ बक्यौता देखिएको अध्यक्ष शान्तिले जनकपुर संचारलाई बताइन् ।

उक्त पैसामा विद्यालयमा भोज आयोजना गरिएको भनेर सुनेको उनले स्वीकारिन् ।

गएको शुक्रबार पाँच किलो मासु ल्याएर विद्यालयमा भोजको आयोजना गरिएको अर्का शिक्षिका लक्ष्मी पण्डितले बताइन् ।

बालबालिकाको लागि आएको बजेट आपूmले नखाने भन्दै भोजमा सहभागी हुन अस्वीकार गरेको लक्ष्मीले सुनाइन् ।

स्वस्थ शरिरमा स्वस्थ मष्तिष्कको निर्माण हुन्छ भन्ने मान्यतालाई आत्मसात गरेर नेपाल सरकारले सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गरेको छ ।

मधेश प्रदेशमा सामुदायिक विद्यालयका अवस्था नाजुक बन्दै गएको बेला राजधानी धनुषाको विद्यालयमा बालबालिकाको लागि आएको बजेटबाट शिक्षकहरु भोज खाने गरेका छन् ।

यसले सामुदायिक विद्यालयको अवस्था छताछुल्ल भएको शिक्षाप्रेमीहरु बताउँछन् ।

विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्नको लागि शान्ति दासको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरिएपनि यसमा रामभगतले चलखेल गर्दै आएका छन् । समितिका सदस्य समेत रहेका रामभगतले अध्यक्षलाई जानकारी समेत नदिई दिवा खाजाको बजेट खर्चिदै आएका छन् ।

रामभगत सरले बालबालिकाको लागि आएको बजेट बाहेक हेडसरसित १४ हजार सापटी लिएर खर्चेको विवरण देखाएको अध्यक्ष शान्तिले गुनासो पोखिन् । आपूmले बजेट व्यवस्थापन गर्नुपर्नेमा आप्mनो अधिकार क्षेत्र बाहिर गएर आर्थिक कारोबार गरेको शान्तिले बताइन् ।

विद्यालयमा बालबालिकाको दिवा खाजा कार्यक्रमको लागि आएको बजेटको रकमबाट भोज आयोजना गरिएको अर्का शिक्षक सिलिप मण्डलले स्वीकारे । भोजमा सहभागी हुनको लागि निम्तो दिएपनि आपूm सहभागी हुन अस्वीकार गरेको मण्डलले बताए ।

शुक्रबार आप्mनो नीजि पैसाबाट विद्यालयमा भोज आयोजना गरिएको प्रधानाध्यापक रामचन्द्र साहले बताए ।

दिवा खाजा कार्यक्रमको एक रुपैयाँ पनि बाँकी नरहेको उनले दावी गरे । विद्यालयमा गेट टुगेदर गर्दै आप्mनो नीजि खर्चमा भोजको आयोजना गरेको प्रअ साहले दावी गरे ।

दिवा खाजा कार्यक्रम लागू भएदेखि नै प्रअ साहले हिसाबकिताब पारदर्शी नगरेको स्थानीय अभिभावकहरुको आरोप छ ।

प्रअ साहले आप्mनो नजिकको शिक्षकबाट कार्यक्रम संचालन गरेर दिवा खाजाको रकम अनियमितता गर्दै आएको स्थानीयले बताए ।

तत्कालीन प्रअ हरिशंकर पण्डितको सरुवा भएपछि २०७४ सालमा प्रअको रुपमा साह हाजिर भएका थिए । विद्यालयमा विद्यार्थी टिकाउन र पोषणयुक्त खाजा दिनको लागि सरकारले अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ एवम् नियमावली २०७७ ले बालविकासदेखि कक्षा ५ सम्मका प्रत्येक बालबालिकालाई दिवा खाजा अनिवार्य गरेको छ ।

निर्देशिकामा प्रत्येक विद्यालयले समिति गठन गर्नुपर्ने भएपनि अहिलेसम्म जिल्लाका धेरै विद्यालयले समिति गठन गरेका छैनन् । विद्यालयले आफ्नो हिसाबले विद्यार्थीलाई खाजाको व्यवस्था गरेका छन् । कुनै विद्यालयले क्यान्टिन तथा स्थानीयलाई, कुनैले अभिभावकलाई जिम्मा दिएका छन् भने केहीले मात्रै आफैंले बनाएर खुवाउने गरेका छन् । पसलमा पाइने जंक फूड (पत्रु खानेकुरा)लाई प्रतिबन्ध लगाउँदै स्थानीयस्तरमा उत्पादित वस्तुबाटै दिवा खाजा खुवाउने भनेपनि अहिलेपनि बालबालिकाहरु बेलाखबत अझैपनि पसलबाट किनेका खाजा खान बाध्य छन् ।

बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउनको लागि मधेश प्रदेशमा दिवा खाजा कार्यक्रमको महत्व बढेको छ । तर, बालबालिकाले खान पाउनुपर्ने पोषणयुक्त खाजाको रकमबाट विद्यालयका शिक्षकहरुले मासु मदिरा पार्टी गरेका छन् । यो शिक्षा क्षेत्रको लागि दुर्भाग्यपूर्ण रहेको शिक्षाप्रेमीहरु बताउँछन् ।

सम्बन्धित खवर