अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार दुवै जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साविक चक्कर गाविसका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको तर त्यसका लागि कुनै पनि रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव मण्डलले नागेन्द्र भनिने रञ्जित साहसँगको मिलेमतोमा गैरकानुनीरुपमा रु नौ लाख ७६ हजार नौ सय बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको गैरकानूनीरुपमा दुरुपयोग गरेको अभियोगमा बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

सचिव मण्डलले गैरकानूनी ढङ्गले रंजितलाई पटक–पटक पेश्की रकम दिई अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

अनुसन्धानको क्रममा गाविस चक्करका तत्कालीन सचिव मण्डलले उपभोक्ता समिति गठन गरेर रकम अनियमितता गरेको पाइएको छ ।

सरकारी रकम हिनामिना गर्ने बदनियतले तत्काल कायम रहेका कानून स्थानीय स्वायत्त शासन ऐन, २०५५, स्थानीय स्वायत्त शासन नियमावली, २०५६, स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ मा निर्माण कार्य खरिदसम्बन्धी उल्लेखित प्रावधान विपरीत उक्त कामको जिम्मेवारी र रकम दिन नमिल्ने देखिएको छ ।

रंजितलाई अनियमित तरिकाबाट पेश्कीको नाममा पटक–पटक गरी ९ लाख ७६ हजार ९ सय रुपैयाँ गैरकानूनी रुपमा दिई उक्त रकमबाट काम समेत नभएको पाइएको छ ।

रंजितले नौ लाख छहत्तर हजार नौ सय रुपैयाँ अनियमितत गरेको बताउँदै सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय वा बिगोबमोजिम जरिवाना गरी उल्लेखित बिगोसमेत मागदावी गरी मुद्दा दायर गरेको हो ।

सम्बन्धित खवर