मलंगवा । सर्लाहीमा मतदाताको संख्या चार लाख ७९ हजार बढी पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार जिल्लामा कुल मतदाताको सङ्ख्या चार लाख ७९ हजार ३८ पुगेको हो । गत वैशाख स्थानीय तह निर्वाचनमा जिल्लामा चार लाख ७४ हजार ४३९ जना मतदाता थिए ।

अहिले चार हजार ५९९ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कुल मतदातामध्ये दुई लाख ५९ हजार ४१४ जना पुरुष, दुई लाख १९ हजार ६१४ जना महिला र १० जना अन्य रहेका छन् ।

यस्तै, सर्लाहीमा ३१२ वटा मतदातस्थल र त्यसअन्तर्गत ६०० मतदान केन्द्र कायम भएका छन् । यसअघि जिल्लामा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र रहेका थिए। अहिले छवटा मतदानस्थल नजिकैको अर्को मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोखरेलले जानकारी दिए ।

मतदातालाई भौगोलिक रुपमा अपायक पर्ने, मतदानस्थलका लागि आवश्यक पर्ने भौतिक संरचना नरहेका छवटा मतदानस्थललाई नजिकैको अर्को मतदानस्थलमा गाभिएको हो ।

यस्तै, १८ वटा मतदानस्थललाई अर्को नयाँ ठाउँमा मतदानस्थल कायम गरी त्यहाँ स्थानान्तरण गर्ने निर्वाचन आयोगबाट स्वीकृत भएर आएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख पोखरेलले बताए ।

सम्बन्धित खवर