जनकपुरधाम । नेपालीहरुको महान चाड वडादशैंको अवसर पारेर जनकपुरको गोपाल धर्मशालामा सोमबारदेखि दशैं(सस्तो) बजार सुरु भएको छ ।

मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतोले उद्घाटन गरेपछि सस्तो बजार विधिवत रुपमा सुरु भएको हो ।

जनकपुर उद्योग वाणिज्य संघको आयोजनामा प्रत्येक वर्ष वडादशैंको घटस्थापनदेखि महाअष्टमी तिथिसम्म स्थानीय गोपाल धर्मशालामा सस्तो बजार लाग्ने गरेको छ ।

सस्तो बजारमा दैनिक उपभोग्य वस्तुहरु सुलभ दरमा विक्रि हुने गरेको बताइन्छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी लगायत व्यापारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

गोपाल धर्मशालामा खडा गरिएको स्टलहरु जनकपुर उद्योग वाणिज्य संघले विक्रि गरेर बजार व्यवस्थापन गर्दै आएको छ ।

सस्तो बजारमा दैनिक उपभोग्य वस्तु खरिद गर्नको लागि धनुषा, महोत्तरी, सर्लाहीसम्मका उपभोक्ता गोपाल धर्मशाला पुग्ने गरेका छन् ।

अगरबत्ती, लुगा धुने साबुन, चियापत्ति भने सस्तो बजारको मुख्य आकर्षण हुने गरेको छ ।

सस्तो बजारमा सामान खरिदमा आकर्षक उपहारको व्यवस्था हुँदा उपभोक्ता बढी जाने गरेका छन् । तर, अघिल्लो समय सस्तो बजारमा चर्को मुल्य लिएर गुणस्तरहीन सामग्री विक्रि गरिएको आरोप लाग्दै आएको छ ।

यता, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा पनि वडादशैंको अवसरमा सस्तो बजार सुरु भएको छ । एक कार्यक्रमका बीच मन्त्री महतोले सोमबार बिहान उद्घाटन गरेपछि बजार सुरु भएको हो । महेन्द्रनगर उद्योग वाणिज्य संघको आयोजनामा तीन वर्षदेखि त्याहाँ सस्तो बजार आयोजना हुँदै आएको छ । बजार उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, उधोगी, ब्यापारी, संघ संस्थाका प्रतिनिधि, सुरक्षानिकायका प्रतिनिधि, समाजसेवी, राजनीति दलका नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर