वीरगञ्ज । वीरगञ्जमा पनि सोमबारदेखि दशैं बजार सुरु भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एक समारोहका बीच उद्घाटन गरेपछि दशैं बजार २०७९ सुरु भएको हो ।
बजारको उद्घाटन गर्दै प्रजिअ ढकालले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको दशैं बजारबाट वीरगञ्ज लगायत आसपास क्षेत्रका आम सर्वसाधारण लाभान्वित हुने बताए ।
उनले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सर्वसाधारणलाई लक्षित गरी दशैंको अवसर पारी आयोजना गरेको दशैं सस्तो बजार सञ्चालन गर्ने कार्य एकदमै सराह्नीय रहेको बताए ।
यस वर्ष पनि नेपालीहरुको महान चाड बडादशैंको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्ने छ । “दशैं सस्तो बजार २०७९” बजार घटस्थापनादेखि फुलपातीसम्म आयोजना हुने बताइएको छ । उक्त सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरु राखिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताए । उनले उक्त दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरु एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकोले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आग्रह गरे ।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, उद्योग विभागका महानिर्देशक सुशिल साह, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रिमा साह, सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सहसचिव अनोज रुँगटा, कार्यसमिति सदस्य मनोज शर्मा, दिपक टिवडेवाल, चंचला दास, स्थानीय व्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech