जनकपुर । मिथिला नगरपालिकामा फरक फरक दलबाट निर्वाचित जनप्रतिनिधि बीचको टकराव उत्कर्षमा पुगेको छ । करारका कर्मचारी हटाएको विवादले मिथिला नगरपालिकाको कार्यपालिका बैठक नै अन्यौलमा परेको छ । कर्मचारी हटाएको विषयमा पालिकाका प्रमुख र उपप्रमुखबीच विवाद भएपछि बैठक अन्यौलमा परेको हो ।

मिथिला नगरपालिमा करारमा काम गर्दै आएका २ सय २० जना कर्मचारी मध्ये ९ जनाको करार अवधि नथपिएपछि नगर प्रमुख उप प्रमुख बीच विवाद चर्केको हो । करार अवधि नथपिएकामा इन्जिनियरदेखि कार्यालय सहायक पदसम्मका कर्मचारी छन । असार मसान्तदेखि उनीहरूको करार अवधि सकिएको हो । उपप्रमुख सुनिता सिंह बुढाथोकीले उनीहरूको करार अवधि थप्नुपर्ने अडान राख्दै बैठक रोकेकी हुन । राजनीतिक आस्थाकै आधारमा उनीहरूलाई निकालिएको बुढाथोकीको भनाइ छ । तर, नगर प्रमुख महेन्द्र महतोले काम गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त पैसा लिने गरेको जनगुनासोको आधारमा ती कर्मचारीको करार अवधि नथपिएको बताए ।

प्रमुख महतो कांग्रेस र उपप्रमुख बुढाथोकी एमालेबाट निर्वाचित भएका हुन । पालिकामा एमालेकै बहुमत छ । करारबाट हटाइएका कर्मचारीको पुनर्नियुक्ति अडानमा रहेका एमालेका उपप्रमुख बुढाथोकीसहित बहुमत कार्यपालिकाका सदस्यले बैठक अवरुद्ध गर्दै आएका छन् । ‘कार्यपालिकाको बैठकमा एजेन्डै नल्याएर प्रमुख महतोले आफूखुसी करार कर्मचारी हटाउनुभयो,’ बुढाथोकीले भनिन्, ‘अन्यायमा परेका कर्मचारीको पक्षमा हामी उभिएका छौं । नियुक्त नभएसम्म कार्यपालिका बैठक बस्न दिन्नौं ।’

कार्यपालिकाको बैठक नबस्दा महत्त्वपूर्ण काम रोकिएको भन्दै प्रमुख महतो पनि ती कर्मचारीलाई फेरि नियुक्त गर्न तयार छन । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारमा कर्मचारी नियुक्त नगर्न र आवश्यक परे सबै प्रक्रिया पूरा गरेर मात्रै (खुला प्रतिस्पर्धा) कर्मचारी नियुक्त गर्न गरेको परिपत्र तगारो बनेको छ ।

सम्बन्धित खवर