जनकपुरधाम । ४३औँ विश्व पर्यटन दिवस मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि मनाइएको छ ।

सो अवसरमा जनकपुरमा प्रभातफेरि कार्यक्रम गरिएको छ ।

 

रेल्वे स्टेशनबाट शुरु भएको प्रभातफेरि नगरको विभिन्न चोकको परिक्रमा गरेर जनक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । मधेश प्रदेशका उद्योग, पर्यटन, तथा वन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, होटल व्यवसायी संघ, जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले प्लेकार्ड, ब्यानर सहित नगरको परिक्रमा गरेका थिए ।

 

जनक चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले कोरोना प्रभावले सिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रदेशको ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन गरेको बताए ।

 

उनले मधेश प्रदेशको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जानकी मन्दिर, महोत्तरीको रौजाबजार, सिरहाको सलहेश फूलबारी, सप्तरीको छिन्नमस्ता, बाराको गढीमाई तथा पर्सा जिल्लाको गहवा स्थानको विकासमा पर्याप्त मात्रामा बजेट विनियोजन गरेको जानकारी दिए ।

 

मन्त्री महतोले पर्यटन क्षेत्रको विकास विना मुलुक तथा प्रदेशको विकास कठिन भएकाले प्रदेश सरकारले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर विभिन्न जिल्लाहरूमा पर्यटन कार्यालय स्थापना गरेको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरमा पर्यटकलाई टिकाउनका लागि परिक्रमा मार्गमा पर्ने ११ वटा विश्राम स्थललाई त्यसको धार्मिक तथा सांस्कृतिक महत्व झल्काउने गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । यसको लागि ११ वटा पालिकाहरूसँग सहकार्य उपमहानगरपालिकाले अगाडी बढाएको उनले बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका अतिरिक्त विद्यालयका विद्यार्थीहरू, नागरिक समाज, होटल व्यवसायी तथा सामाजिक क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग