जनकपुरधाम । पार्टीका नेतृत्व तहबाट लमाो समयदेखि असन्तुष्ट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले बुधवार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले लोसपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता दिएर प्रवेश गराएका थिए । उनी स्थानीय तहको निर्वाचनपछि पार्टी नेतृत्व पंक्तिबाट रुष्ट थिइन् ।

चौधरीले सर्लाही–४ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पाँच दलीय गठबन्धनबाट टिकट दिने आश्वासनपछि कांग्रेस प्रवेश गरेको बताइएको छ । यसअघि उक्त क्षेत्रबाट कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए ।

चौधरी २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् । उनलाई साविकको तमलोपा अध्यक्ष महन्थ ठाकुरले खेलकुद सहायकमन्त्री समेत बनाएका थिए ।

२०७४ सालको निर्वाचनमा पनि उनी महोत्तरीबाट साविकको राजपाबाट समानुपातिक सांसद बनेकी थिइन् । केपी ओली सरकारमा उनी पनि १८ दिनको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् ।

यसअघि उनी माइती महोत्तरी–३ बाट सांसद बन्दै आएकी थिइन् । तर, अब उनले लोसपा त्यागेर ससुराल रहेको सर्लाही जिल्लाबाट प्रतिनिधि सभामा उम्मेदवारी दिने चर्चा चलेको थियो । यद्यपि, चौधरीले भने अहिले नै आफ्नो निर्वाचन क्षेत्र टुंगो लागिनसकेको बताएकी छन् । पार्टी प्रवेशपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफू सर्लाही वा अन्तैबाट लड्नसक्ने बताइन् । उनले आफू समानुपातिकमा बस्नसक्ने सम्भावना रहेको पनि बताइन् । पार्टीले गरेको सबै निर्णय आफूलाई मान्य हुने चौधरीको भनाई थियो ।

पूर्वमन्त्री चौधरीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै चुनावको बेला सत्ता गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुर्व्यवहार भएको भन्दै न्यायको माग गरेकी थिइन् । तर, पार्टीका नेतृत्व तहले उनलाई न्यायको लागि कुनै पहल गरेको थिएन् । आपूm र्दुव्यवहारमा परेपनि पार्टीले कुनै चासो नलिएपछि उनी रुष्ट थिइन् । चौधरीलाई कांग्रेसमा ल्याउन लोसपाका पूर्व युवा नेता कृष्णा सिंहको पनि भूमिका रहेको बताइएको छ । केही दिन अघि मात्र लोसपा अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र मानिएका कृष्णा सिंहले कांग्रेस प्रवेश गरेका थिए । उनी लोसपाबाट चौधरीलाई कांग्रेसमा ल्याउन पहल गरेको श्रोतको दावी छ ।

सांसद चौधरीले स्थानीय चुनावको ३ दिनअघि वैशाख २७ गते महोत्तरीको मटिहानीस्थित आफ्नो घरमा हातहतियारसहित आक्रमण भएको भन्दै सुरक्षाको माग गरेकी थिइन् ।

सांसद चौधरीले आफू घरबाट २० मिटर टाढा अर्का दाजुको घरमा रहेको बेला सत्ता गठबन्धनका उम्मेदवार र उनका समर्थकले दुर्व्यवहार गरेको बताइन् । उनले आफूलाई न्याय चाहियो भन्दै गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएकी थिइन् ।

 

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग