जनकपुरधाम । दशै पर्वको चहल पहल बढ्दै गएपछि सामाजिक अपराध समेत मौलाएको छ । धनुषामा आफन्तबाटै तीन जनाको हत्या भएको छ । पछिल्लो एक साता यता दुई जना महिलालाई आफनै श्रीमानले घरायसी विवादमा हत्या गरेका छन् भने ५ वर्षीय बालकलाई आफनै काकाले हत्या गरेका छन् ।
धनुषाको महेन्द्रनगरमा ५ वर्षीय बालकको हत्या गरिएको छ । आफनै काकाले भतिजोको हत्या गरेको हो । क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ कुचाइ टोल निबासी किशन पासमानको छोरा ५ वर्षीय अनुस पासवानलाई उनका काका रबि पासमानले कुटपिट गर्दा मुत्यु भएको हो । कुट्ने खालले प्रहार गर्दा घाइते भएका बालकको उपचारकालागि अस्पताल लिएर जाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन विगरेको काका रबि पासमान घरमा कोहि नभएको समयमा भतिजोको हत्या गरी प्रहरी कार्यालय पुगेको थियो । घटना बारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेचन यादवले बताए । मंगलबार अपराह्न गणेशमान चारनाथ नगरपालिका ६ मुसहरी टोलमा ३५ वर्षीया आशादेवी सदालाई कुटपिट गरी हत्या भयो । सदाको हत्या आरोपमा प्रहरीले श्रीमान रेविया सदालाई नियन्त्रणमा लिएको थियो ।
रेवियालाई सोधपुछ तथा अनुसन्धान गर्दा उनले मादक पदार्थ सेवन गरी ढुंगाको सिलौटा प्रहार गरेर श्रीमती आशादेवी सदाको हत्या गरेको बताए । यसअघि आइतबार धनुषाको मिथिला बिहारी नगरपालिका–३ ललियामा पनि श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका थिए । मिथिलाबिहारी नगरपालिका ५ ललिया बस्ने ५० वर्षीय रामा मण्डल केवट रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
असोज ४ गते घरायसी विवादको क्रममा रामाले श्रीमती ४५ वर्षीया जिवछीदेवी मण्डललाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । रामाले ललियास्थित बाँसघारीमा टाउकोमा कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले दाबी गरेको छ । अनुसन्धानको क्रममा असोज ९ गते श्रीमतीको क्रिया बसेको अवस्थामा श्रीमान् रामालाई घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech