जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा सिट(क्षेत्र) बाँडफाँटमा कुनै सहमति नभएको बताएका छन् । बजारमा आएको हल्ला जस्तो गठबन्धनमा सिटको बाँडफाँटमा कुनै सहमति छैन, अध्यक्ष यादवले भने,‘ हल्लाको पछाडी नलागौ । गठबन्धनमा कुनै सहमति भएको छैन् ।’ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लड्न जसपालाई कुनै बैशाखीको आवश्यकता छैन्, उनले भने ।
धनुषाको यदुकोहामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले विना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लड्न जसपा सक्षम रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच दलीय गठबन्धन निर्माण भएको उल्लेख गर्दै अध्यक्ष यादवले मधेशी आदिवासी लगायतका उत्पीडित वर्गको सम्मान हुने गरि सिटको बाँडफाँट भए आफुहरु अझै गठबन्धनको पक्षमा रहेको बताए ।
आसन्न निर्वाचन अन्य दलहरुको लागि निर्वाचन मात्र भएपनि जसपाको लागि संघर्षको एउटा पडाव भएको उनले बताए । अध्यक्ष यादवले संविधान सभाबाट जारी भएको त्रुटिपूर्ण संविधानलाई संशोधन मार्फत सही ट्रयाकमा ल्याउन संसदको उपयोग आवश्यक रहेकोले बताउदै निर्वाचनलाई संघर्षको रुपमा लिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
अहिलेको निर्वाचन प्रणालीले थुप्रै वेथितिहरु निम्त्याएको हुँदा खसी बोका जस्तो सांसदहरु विक्रीहुने प्रणाली लाई अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान समेत संसदबाट संविधान संशोधन आवश्यक रहेकोले निर्वाचनलाई आफुहरुले संघर्षको रुपमा लिएको यादवले बताए ।
जनता समाजवादी पार्टी समाजवादको सच्चा सिपाही रहेको उल्लेख गर्दै अध्यक्ष यादवले काँग्रेस कम्युनिष्टहरुले समाजवादको कुरा गरे पनि उनीहरुले नक्कली समाजवादमा मात्र रुम्मलिएको आरोप लगाए ।
यादवले धनुषा क्षेत्र नं.२ मा जसपाकै उम्मेदवार हुनेमा ढुक्क रहन आग्रह गर्दै छत्ता छापलाई जिताउने अभियानमा जुटन निर्देशन दिए । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सल्लाकार परिषद् सदस्य गंगाराम यादवसहित नेता कार्यकर्तालाई अध्यक्ष यादवले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा नव प्रवेशी गंगाराम यादव, प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव, रामअशिष यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।
धनुषा क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनाउने आश्वासन पाएपछि यादव जसपामा प्रवेश गरेका हुन् ।
धनुषा २ मा एमालेबाट अरगरिया चुनावी मैदानमा उत्रने निश्चित छ । ०७४ को निर्वाचनमा अरगरिया तत्कालीन संघीय समाजावदी फोरमबाट उम्मेदवार भई १४ हजार बढी मतान्तरले चुनाव जितेका थिए । सत्ता गठबन्धनबाट भने काँग्रेसका रामकृष्ण यादव र नेकपा एकिकृत समाजवादीका रामचन्द्र झा पनि दावेदार छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech