जनकपुरधाम । नेपाल सरकारले बक्यौता भुक्तानी नगर्दा रेल्वेले सेवा विस्तार गर्न सकेको छैन् । नेपाल रेल्वे कम्पनीले दशैंदेखि दैनिक तीन पटक जयनगर–जनकपुर–कुर्था ओहोरदोहोर गर्ने तयारी गरेको थियो । तर, नेपाल सरकारले बक्यौता भुक्तानी समयमा नगर्दा भारतीय रेल्वे कम्पनीले थप सेवा संचालन गर्न अस्वीकार गरेको छ । कम्पनीले बिहान ७ बजे जनकपुर–जयनगर सेवा थप गर्ने तयारी गरेको थियो । बिहान सेवा नहुँदा जनकपुरका व्यापारीहरुलाई किनमेल गर्न जान समस्या भएको छ । जनकपुर उद्योग वाणिज्य संघले पनि रेलमा मालबाहक बोगी र समय थप गर्नुपर्ने माग गर्दै आएको छ । दशैंमा रेल थप एक सय संचालन गरिने तयारी गरेपनि भारतीय रेल्वपे कम्पनीले संचालन गर्न अस्वीकार गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए ।

बिहान ७ बजे जनकपुरबाट जयनगरको लागि रेल संचालनमा ल्याउने योजना थियो, झाले भने–तर, भारतीय रेल्वे कम्पनीले बक्यौता नतिरेको भन्दै चलाउन अस्वीकार गरेका छन् । बिहान ७ बजे रेल संचालन हुँदा जनकपुरबाट किनमेल गर्न जयनगर जान सजिलो हुनेछ । सामान किनमेल गरेर दिउँसोको रेल चढेर गन्तव्य फर्किन सकिने थियो । अहिले बिहान ११ बजे जनकपुरबाट खुल्ने रेल मध्यान्ह साढे १२ बजे जयनगर पुर्याउने गरेको छ । जयनगरबाट सोही रेल दिउँसो ३ बजे जनकपुरको लागि छुट्ने गरेको छ । जसका कारण जयनगर गएका मानिसहरुले सामान किनमेल गर्न पर्याप्त समय पाएको छैन् ।

नेपाल सरकारसँग रहेको दुई वटा रेल भारतीय प्राविधिकहरुले संचालन गरेका छन् । उनीहरुको तलब, भत्ता लगायतको सुविधा नेपाल सरकारले तिर्न बाँकी छ । गएको चैत १९ गतेदेखि नियमित संचालनमा आएको रेल घाटामा छ । नेपाल रेल्वे कम्पनीले करार सेवामा खटाएका कर्मचारीको तलब बाहेक अन्य खर्च भुक्तानी गर्न सकेको छैन् । इन्धन खर्च पनि रेलको आम्दानीले धान्न सकेको छैन् । जसका कारण रेल संचालनमा समस्या भएको हो । अहिले रेल दुई पटक जयनगर–जनकपुर–कुर्था ओहोरदोहोर गर्दै आएको छ । कोचिएर यात्रा गर्ने बाध्यता रहेपनि रेल भने घाटामा संचालन भएको छ ।

सम्बन्धित खवर