जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा–३ छाड्ने भएका छन् । आगामी निर्वाचन उनी गृहजिल्ला सर्लाहीबाट लड्ने भएका छन् । धनुषा ३ मा आफ्नो जित सुनिश्चित नदेखेपछि उनी सर्लाही २ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् ।
उनी २०७४ मा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । मधेश आन्दोलनको सेन्टिमेन्टमा उनी नेपाली काँग्रेसका पूर्व उपसभापति बिमलेन्द्रलाई पराजित गर्दै जित हासिल गरेका थिए । उनलाई नेकपा एमालेले पनि आन्तरिक रुपमा सहयोग गरेको थियो । तर यसपटक यो क्षेत्रबाट एमाले नेतृ जुली महतो आफै उम्मेदवार हुने भएपछि महतोले अवस्था प्रतिकुल देखेका हुन् ।
पाँच दलीय गठबन्धनमा आवद्ध भएपछि धनुषा–३ बाट चुनाव लड्ने दाउमा रहेका महतोले तालमेल नहुँदा सुरक्षित क्षेत्रको खोजीमा जुटेका हुन् ।
सर्लाही २ बाट चुनाव लड्न महतोले केही दिनयता तयारी पनि सुरू गरिसकेका छन् ।
गृहजिल्ला पुगेका महतोले कार्यकर्ताहरूमाझ चुनाव सर्लाही २ बाटै लड्ने घोषणा गरेका छन् । अरू जिल्लाबाट चुनाव नलडेर अब आफ्नै जिल्लाबाट चुनाव लड्ने उनले बताएका हुन् ।
‘सर्लाहीका जनता, सर्लाहीका कार्यकर्ता चाहन्छन् आफ्नै घरबाट चुनाव लड्नुप¥यो, म अरू जिल्लामा मात्रै कति लडिरहने,’ महतोले भनेका छन्,‘आफ्नो घर बिग्रिँदै गइरहेको छ, कति अरू ठाउँबाट लडिरहने ।’
आफू धनुषा गएपछि सर्लाहीमा पार्टीको संगठन बिग्रिएकोले अब यहीँबाट चुनाव लड्ने उनले बताए ।
‘यहाँको पार्टी संगठन बिग्रिएको छ । सदभावना पार्टी छँदा संगठन मजबुत थियो । यसबीचमा सबै गडबडभयो,’ उनी भन्छन्,‘यहाँबाट लड्दा ‘गार्जियन’ पाउने, बिस्तारै सबै क्षेत्र ठीक हुनेछ कार्यकर्ताहरूलाई लागेको छ ।’
स्थानीय तह निर्वाचनमा जिल्लाभरमा एउटा पालिकामात्र जित्न सकेको भन्दै महतोले सर्लाहीजस्तो जिल्लामा मधेसवादी पार्टी एउटामात्रै जित्नु गडबड रहेको जिकिर गरे ।
‘एउटामात्रै पालिका जितेका छौं । सर्लाहीजस्तो जिल्लामा मधेसवादी पार्टी एउटामात्रै पालिका जित्नु ठीक भएन् । कांग्रेस, एमाले र माओवादी आएर जितिहाल्यो, मधेसीको पार्टी हराइहाल्यो । यो त कमजोरी भयो नि,’ महतो भन्छन्,‘धनुषा छाडेर यहाँ आउने साथीहरूको प्रस्ताव मलाई ठीकै लाग्यो ।’
आफ्नो घर ठीक हुँदा बाहिर पनि ठीक हुने उनले बताए । महतोले भने,‘आफ्नो घर ठीक हुँदा बाहिर पनि ठीक हुन्छ। आफ्नो गडबड हुने र म बाहिर घुमिरहनु ठीक भएन नि । मैले निर्णय गरेको छु, चुनाव यहीँबाट लड्छु ।’
गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने निर्णयमा पुग्नुअघि महतो पुनः धनुषाबाटै दोहोरिने प्रयासमा थिए। तर, अघिल्लो निर्वाचनमा आफूलाई सघाएको एमालेबाट जुली महतो चुनाव लड्ने निश्चित भएपछि महतो गृहजिल्ला सर्लाहीतिर लागेका हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech