हरिवन । सर्लाहीमा सत्ता गठवन्धनभित्रका दलबीच ४ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा भागबण्डा टुंगिएको छ ।

अहिलेसम्मको सहमती अनुसार क्षेत्र नं. १ जसपाले, क्षेत्र नं. ३ माओवादी केन्द्रले र क्षेत्र नं. ४ नेपाली कांग्रेसले लिने सहमती भएको छ । क्षेत्र नं. २ भने कस्ले लिने ? भन्ने सहमती जुट्न सकेको छैन् ।

क्षेत्र नं. २ मा कांग्रेस, माओवादी केन्द्र र जसपाले दावी छाडेका छैनन् । २०७४ मा क्षेत्र नं. २ बाट तत्कालिन जनता समाजवादी पार्टी (जसपा) का महेन्द्र राय यादव निर्वाचित भएका थिए । यादव यो पटक पनि चुनाव लड्ने ध्याउन्नमा छन् ।

यादव अहिले डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीमा आवद्ध छन् । माओवादीले २ नं. क्षेत्रमा यादवलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लडाउन चाहिरहेको छ । तर, गठवन्धन भित्र रहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी फुटाएर गएको भन्दै गठवन्धनबाट महेन्द्र राय यादवलाई स्वीकार नगर्ने अडान राख्दा क्षेत्र नं. २ बारे सहमती जुट्न नसकेको हो ।

जहाँ जुन पार्टीले जितेको थियो, उसैले सो क्षेत्र पाउने सहमती अनुसार क्षेत्र नं. २ आफ्नो पार्टीले पाउनुपर्ने उपेन्द्रको अडान छ । जसपाले अहिलेसम्म आफ्नो भागमा परेको क्षेत्र नं. १ बाट निवर्तमान सांसद प्रमोद साहलाई नै अघि सार्ने लगभग निश्चित जस्तै छ । माओवादीले क्षेत्र नं. ३ बाट नरेन्द्र साहलाई उठाउने पक्कापक्की जस्तै नै छ । २०७४ मा स्वतन्त्रबाट चुनाव लडेका साह हिजो भर्खर माओवादीमा प्रवेश गरेका थिए ।

२०७४ मा ३ नं. क्षेत्रबाट साहलाई नै पराजित गर्दै माओवादीका रामेश्वर राय यादव निर्वाचित भएका थिए । यादव आफैले यो पटक चुनाव नलड्ने बताइसकेका छन् । कांग्रेसको भागमा परेको क्षेत्र नं. ४ बाट को उम्मेदवार हुने ? भन्ने निश्चित छैन् ।

शेखर कोइराला गुटका निवर्तमान सांसद डा. अमरेशकुमार सिंहले आफूले नै टिकट पाउने दावी गरेपनि जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहसहितको टिम अमरेशलाई टिकट नदिलाउने गरी लागि परेका छन् । अमरेशलाई टिकट नदिने नियतले नै संस्थापन पक्षको दबदबा रहेको ४ नं. क्षेत्रको क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गर्दा नै अमरेशको नाम नपठाई महामन्त्री गगनकुमार थापाको नाम सिफारिस गरी पठाएको थियो ।

कांग्रसले पूर्वमन्त्री एवं लोसपाकी नेतृ चन्दा चौधरीलाई पार्टीमा भित्र्याएको छ । ४ नं. बाट कांग्रेसले चौधरीलाई टिकट दिने बाहिरी चर्चा भएपनि जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले चौधरीलाई टिकट दिने कुरै नभएको बताएका छन् ।

गठवन्धनबाहेक प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेसहित अन्य दलले पनि उम्मेदवार छानिसकेका छैनन् ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग