वीरगञ्ज । बाराको अमलेखगंज तीन नम्बर पुल छेउ भएको यात्रु बाहक बस दुर्घटनामा मृत्यु हुनेको सङख्या १८ पुगेको छ । सबै मृतकहरुको पहिचान भएको छ ।
नारायणगढबाट वीरगञ्जतर्फ जाँँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटनामा परेको थियो ।
घटनाका ४ जना अझै गम्भिर अबस्था रहेका छन भने दुई भारतीय सहित २९ जना सामान्य घाईतेको उपचार भईरहेको छ ।
दुर्घटनामा मृत्यु भएकाहरुमा बाराका छ, पर्साका चार, चितवनका तीन, मकवानपुरका दुई तथा ओखलढुङ्गा, गोर्खा र धनुषाका एक एक गरी १८ जनाको पहिचान खुलेको हो । मृत्यु हुनेमा बाराका कलैया उपमहानगरपालिका २ बस्ने बर्ष ४१ को लिलाराज चौधरी, कलैया १० बस्ने बर्ष ३६ कि नाजलिन खातुन, २६ वर्षीय ईताजत अंसारी, जितपुरसिमरा उपमहानगरपालिका २२ बस्ने २८ वर्षीय सुरेश बि.क, स्वर्ण गा.पा. ७ बस्ने वर्ष ५५ को रामआश्रय राय यादव, करैयामाई गा.पा. २ बस्ने १६ वर्षीया प्रितिका चौधरी, पर्साको वीरगञ्ज महानगरपालिका १६ बस्ने ६५ वर्षीय सोम प्रसाद चौरसिया, ३६ वर्षीया मन्निदेवी चौरसिया, सखुवा प्रसौनी ६ निवासी ५५ बर्षिय गया राउत कम्कर, वीरगंज १६ नगवाका ६० बर्षीया मालती देवी चौरसिया, चितवनको खैरहनी नगरपालिका– ५ बुडौली बस्ने ६३ वर्षीया नन्द कुमारी पुडासैनी, ३५ वर्षीय मनोरथ पुडासैनी, कालिका नगरपालिका रमाईलो चोक बस्ने शंकर कडेलको १५ वर्षीय छोरा सफल कडेल, मकवानपुरको हेटौडा ७ बस्ने ५६ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, २० वर्षीया स्वस्तिका श्रेष्ठ, ओखलढुङ्गा बस्ने लाल बहादुर बोगटी, गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेल, धनुषा जनकपुर ५ बस्ने बर्ष ५० को सन्तोष कुमार रायको मृत्यु भएको छ ।
बिहीबार बिहान १० बजेर ३० मिनेट बा.प्र.०६–००१ ख ०११० नं.को बसको ब्रेक फेल भएका कारण अनियन्त्रीत भई सडकको बायाँ साईटबाट करिब २० मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताए ।
स्याङजा आदीखोला ६ निवासी बर्ष ४० को चालक दिप्ती नारायण ढकालको हेटौडा चुरेहिल अस्पतालमा उपचार भईरहेको छ । उनले आफुले ब्रेक फेल भएपछि बचाउन सक्दो प्रयास गरेपनि असफल भएको बताए । घटना लगत्तै प्रहरी, नेपाली सेनाको टोलीले उद्धार गरेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech