जनकपुरधाम । पाँच वर्षमा प्रदेशसभाको २ सय २८ वटा बैठक बसेको छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेशसभाको २०७९ असार ३२ सम्म ९ वटा अधिवेशन भएको छ । जसमा २२८ वटा बैठक बसेको सभामुख सरोजकुमार यादवले जानकारी दिए । २२८ बैठकमा सबैभन्दा बढी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले १ सय ४० पटक बोलेका छन् ।

प्रदेशसभाको गतिविधि सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सभामुख यादवले प्रदेशसभाको कार्यकाल सफल रहेको दावी गरे । उनले यो अवधिमा प्रदेशसभामा ६१ विधेयक दर्ता हुँदा ५५ वटा विधेयक प्रदेशप्रमुखबाट प्रमाणीकरण भएर ऐन बनिसकेको बताए ।

समितिमा विचाराधिन अवस्थामा रहेको विधेयकको छलफल गरि प्रतिवेदन पेश गर्ने अवस्थामा रहेतापनि नवौँ अधिवेशन अन्त्य भइसकेकाले सदनमा पेश हुन नसकेको उनले बताए ।

सभामुख यादवले प्रदेशसभाको यस अवधिमा ६ वटा नीति तथा कार्यक्रम, ६ वटा बजेट र दुई पटक विश्वासको मतको सम्बन्धमा छलफल भएको जानकारी दिए । उनले पाँच वर्षको मुख्य उपलब्धि प्रदेशको नामाकरण र राजधानी रहेको बताए ।

प्रदेशसभाको ९ वटा अधिवेशनमा २२८ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड प्रदेशसभा सञ्चालन भएको हो ।

प्रदेशसभाको बैठकमा चौधरीसहित २ जना सांसदले एक सयभन्दा बढी पटक बोलेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार सबैभन्दा बढी नेपाली कांग्रेसका सांसद चौधरीले १४० पटक सदनमा बोलेका हुन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सचेतक समेत रहेका सांसद परमेश्वर साह १०१ पटक सदनमा आफ्नो धारणा राखेका हुन् । साह आवद्ध तत्कालीन राजपा नेपाल सरकारमा सहभागी भएको थियो भने हाल कांग्रेससहित गठबन्धनको सरकार रहेको छ ।

यस्तै जनता समाजवादी पार्टी नेपालका सांसद ज्ञानेन्द्र कुमार यादव ९० पटक, रामअशिष यादव ८० पटक सदनमा बोलेका हुन् । यस्तै नेकपा एमालेबाट सांसद बनेका एवं नेकपा एसमा गएर पुनः एमालेमै फर्केका सुन्दरबहादुर विश्वकर्मा समेत ८० पटक संसदमा बोलेका हुन् ।

सम्बन्धित खवर