जनकपुरधाम । आगामी संसदीय निर्वाचनको लागि भोली आइतबार मनोनयन पत्र दाखिला गर्ने तयारीमा जुटेका बेला मधेशवादी दलहरु चुनावी तालमेल गर्न व्यस्त छन् । सन्तोषजनक सिट नपाएपछि पाँच दलीय गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी(जसपा) नेकपा एमालेसित सिट तालमेलमा जुटेको छ । तर, शुक्रबार अबेर साँझसम्म नेकपा एमाले र जसपा बीच सिटमा तालमेल हुन सकेको छैन् । दुवै दलका शिर्षस्थ नेताहरु सहमति नजिक रहेको श्रोतको दावी छ । पाँच दलीय गठबन्धनबाट बाहिरिएका जसपाले बढीमा २५ प्रतिनिधिसभा सिट र प्रदेशसभाको ४२ सिट पाउने एक जना नेताले बताए ।
यता, जसपा बाहिरिएपछि पाँच दलीय गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लाई गठबन्धनमा ल्याउने प्रयास थालेको छ । गठबन्धन र लोसपाका नेताहरु बीच शुक्रबार बालुवाटारमा छलफल भएको छ । छलफलको क्रममा लोसपाले सत्ता गठबन्धनसँग १५ सिट मागेको छ । उसले मधेश प्रदेशको मुख्यमन्त्री समेत दाबी गरेको स्रोतको भनाइ छ ।
आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा जुटेको सत्ता गठबन्धनको बैठकबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि शुक्रबार लोसपा सहभागी भएको थियो ।
स्रोतका अनुसार लोसपा नेताहरू कांग्रेससँग छुट्टै छलफल गरेर गठबन्धनको बैठकमा सामेल भएका थिए ।
बैठकमा सत्ता गठबन्धनले जसपालाई दिएजति सिट दिन्छु भनेको लोसपाका एक कार्यकारिणी सदस्यले सेतोपाटीलाई बताए ।
जसपाले भने आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिइराखेको थियो। गठबन्धनले १६ सिट दिने भने पनि यतिले नपुग्ने भन्दै आफूलाई जसले धेरै सिट दिन्छ, उतै जान खुला रहेको उसले बताउँदै आएको थियो ।
शुक्रबारको बैठकमा सहभागी लोसपा नेता जितेन्द्र सोनालले भने छलफल सकारात्मक भएको मात्र बताए । उनले आफूहरू सिट संख्यामा प्रवेश नगरेको दाबी गरे ।
जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको गठबन्धन बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
पछि एमाले सचिव रघुवीर महासेठको भैंसेपाटीस्थित घरमा सहमतिको मस्यौदा तयार भइरहेको जसपा स्रोतले जानकारी दिएको थियो ।
जसपालाई मधेशका १६ सहित २५ स्थान दिने गरी एमालेले सहमति गर्न लागेको जसपाका एक नेताले सेतोपाटीलाई बताएका थिए। उनका अनुसार केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी सहमति हुन लागेको हो ।
बिहीबारदेखि सत्ता गठबन्धन बैठकमा सहभागी नभएको जसपाले एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ । एमाले र जसपा नेताहरूको बैठक भए पनि औपचारिक सहमति हुन सकेको छैन ।
एमाले नेताहरूसँगको बैठकमा सहभागी जसपा कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादवले सत्ता गठबन्धनले गर्ने प्रस्तावका आधारमा आफूहरूले निर्णय गर्ने बताएका थिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech