जनकपुरधाम । नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा) गठबन्धनले धनुषा २ र ४ मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । २ र ४ मा दुवै दलले अडान लिएपछि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेको हो । धनुषा २ मा जसपाबाट लोसपा हुँदै एमाले प्रवेश गरेका उमाशंकर अरगरियालाई व्यवस्थापन गर्न एमालेले नछाड्ने अडान लिएका थिए भने एमाले परित्याग गरेर जसपा प्रवेश गरेका गंगाराम यादवलाई व्यवस्थापन गर्न जसपाले पनि छाड्न मानेका थिएनन् । दुवै दलका नेताहरुले बीचको मार्ग निकाल्दै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।
एमाले र जसपाबीच प्रतिनिधिसभा अन्तर्गत ५२ सिटमा तालमेल हुने भए पनि धनुषा क्षेत्र नम्बर २ मा दुवै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । २०७४ को निर्वाचनमा धनुषा २ मा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उमाशंकर अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित हासिल गरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार रामचन्द्र झाले १८ हजार ७१५ मत मात्र प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए । २०५२ मा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका अरगरिया विभिन्न पार्टी हुँदै संघीय समाजवादी फोरममा प्रवेश गरी २०७४ को चुनाव लडेका थिए ।
धनुषाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र ३ मा नेकपा एमाले र जसपाबीच तालमेल हुने भएको छ ।
क्षेत्र नं. ४ मा पनि दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भएको छ । एमालेका केन्द्रीय सचिव एवम् पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले क्षेत्र नं. ४ बाट उम्मेदवारी दिने पूर्व तयारी गरेका छन् भने जसपाले पार्टी केन्द्रीय सदस्य महाजन यादवलाई लगातार दोश्रो पटक उम्मेदवार बनाउन खोज्दा सहमति जुट्न सकेको थिएन् । दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । जसपाले क्षेत्र नं. ४ बाट प्रतिनिधिसभातर्पm महाजन यादव र प्रदेश सभा (क) मा ज्ञानेन्द्र कुमार यादवलाई टिकट दिएको छ । प्रदेशसभा (ख) मा भने जसपाले टुंगो लगाउन सकेको छैन् । २०७४ को निर्वाचनमा जसपा उम्मेदवार महाजन यादव तेश्रो स्थानमा रहेका थिए । उनी नेकपा एमाले उम्मेदवार रघुवीर महासेठबाट पराजित भएका थिए ।
२०७४ मा संघीय समाजवादी फोरमबाट चुनाव लडेका अरगरिया यस पटक भने एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै, एमाले परित्याग गरी भर्खर मात्र जसपामा प्रवेश गरेका गंगाराम यादव पनि सोही क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।
जसपा र एमालेबीच भएको सहमति अनुसार धनुषाको क्षेत्र नम्बर ३ र ४ मा एमाले र क्षेत्र नम्बर १ मा जसपाले उम्मेदवारी दिने भएको छ । एमालेले क्षेत्र नम्बर ३ मा नेतृ जुलीकुमारी महतो र जसपाले धनुषा क्षेत्र नम्बर १ मा दीपक कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech