जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)सँग चुनावी तालमेलको निर्णयपछि नेकपा (एमाले) धनुषामा विद्रोह हुने देखिएको छ । तालमेलका कारण टिकट नपाएपछि क्षेत्र १ मा एमाले नेता किशोरी साह (कमल)ले बागी भएर उम्मेदवारी दिने तयारी गरेका छन् ।

साह यसअघि सोही क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थिए । तर, जसपासँग एमालेले गरेको चुनावी तालपछि यो क्षेत्र जसपाको भागमा परेको छ । साह एमाले प्रदेश कमिटी सदस्य र प्रदेशसभामा दलको प्रमुख सचेतकसमेत थिए ।

नेता साहले उम्मेदवार बन्न जनताको दबाब भएको कारण स्वतन्त्र वा कुनै दलसँग आवद्ध भएर उमेदवारी दिने बताए । तर, अहिलेसम्म दलको टुङ्गो नलागेको उनको भनाइ छ । उनी भन्छन्, जनताले उमेदवारी दिन निकै दबाब दिइरहेका छन् । मैले निर्णय गर्न सकेको छैन । स्वतन्त्र वा जनमत पार्टीबाट उमेदवारी दिन सक्छु ।

क्षेत्र नम्बर १ एमालेसँगको गठबन्धनमा जसपाले पाएको छ भने प्रदेशतर्फ ‘क’ जसपा र ‘ख’ एमालेको भागमा परेको छ । एमाले–जसपा गठबन्धन, एमालेका बागी र सत्तारुढ गठबन्धनका तर्फबाट अलग उमेदवार हुने भएपछि यहाँ अब त्रिपक्षीय भिड्न्त हुने देखिएको छ ।

प्रतिनिधिसभामा जसपाले दीपक कर्कीलाई उमेदवार बनाउने तयारी गरेको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को भागमा यो क्षेत्र परेको छ । यहाँ माओवादीले मातृकाप्रसाद यादवलाई उमेदवार बनाउने निश्चितजस्तै छ । अब एमाले त्याग गरेर किसोरी साहले पनि उमेदवारी दिँदा यहाँ त्रिपक्षिय भिडन्त हुने देखिन्छ ।

सम्बन्धित खवर