जनकपुरधाम । मधेश प्रदेशका दुई चर्चित नेता राजेन्द्र महतो र महिन्द्र राय यादव आगामी निर्वाचनमा आमनेसामने भएका छन् ।

एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुईजना पुनः दोस्रो पटक चुनावी मैदानमा आमनेसामने भएका हुन् । सर्लाहीको क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) बाट महतोले र नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट यादवले आईतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय मलंगवामा उम्मेद्वारी दिएका छन् । आफ्नो पार्टी नेपाल समाजवादी पार्टी भए पनि यादवले माओवादीसँगको सहमति अनुसार उसैको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका हुन् ।

मधेशका यी दुई चर्चित नेताबीच प्रतिस्पर्धा हुने भएपछि सर्लाही क्षेत्र नं. २ लाई निकै चासोका साथ हेर्न थालिएको छ । उनीहरु दुईजना धेरै पटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौं पटक फुट्ने मात्र हैन, एक आपसमा लड्ने (निर्वाचन) समेत गरेका छन् । यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा त करिब करिब सोही क्षेत्रहरु पर्ने तत्कालीन ४ नम्बर क्षेत्रमै एक आपसमा चुनावी मैदानमा उत्रदा बाजी मारेका यादवसँग महतोले दोस्रो पटक पुनः भिड्ने उम्मेद्वारीले पक्का गरेका छन् ।

२०७० सालमा तत्कालीन तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले तत्कालीन सद्भावना पार्टीका अध्यक्ष महतोलाई पराजित गरेका थिए । २०७४ मा पनि यादव सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । २०७४ मा महेन्द्रले नेपाली कांग्रेसका जंगीलाल रायलाई १० हजार २ सय १५ मतको फराकिलो मतान्तरले पराजित गरेका थिए । महेन्द्रले २९ हजार १ सय ९१ मत ल्याएका छन्। जंगीलाल रायले १८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् । महतो २०७४ सालमा भने धनुषा ३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीलाई पराजित गर्न सफल भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई २ हजार ९१४ मतले पछाडि पार्दै उनले जित हासिल गरेका थिए । महतोले ३० हजार ७४२ मत ल्याउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए ।

यसपटक धनुषा ३ मा नेकपा एमाले नेतृ जुली महतो आफै उम्मेद्वार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा फर्किएका हुन् । गत निर्वाचनमा जुलीले सहयोग गरेकै कारण निधीलाई हराएका महतो यसपटक उक्त क्षेत्र असुरक्षित देखेपछि पूरानै मैदानमा फर्किएको एक नेताले दाबी गरे ।

त्यहाँ विपक्षी गठबन्धनबाट भने नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका छन् । साहले २०७० सालको संविधान सभा निर्वाचनमा समेत एमालेबाटै संविधान सभा सदस्यका लागि उम्मेद्वारी दिएका थिए ।

सम्बन्धित खवर