एजेन्सी । भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ । गुरुग्राम अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उनको उपचार गरिएको थियो ।

यादवकी श्रीमती साधना गुप्ताको गत जुलाईमा निधन भएको थियो । पहिलो श्रीमती मालतीदेवीको भने सन् २००३ मा निधन भएको थियो । यादवका छोरा तथा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अखिलेश यादव मालतीदेवीबाट जन्मेका हुन । समाजवादी पार्टीको स्थापना स्वर्गिय यादवले नै सन् १९९२ अक्टोबर ४ मा गरेका थिए ।

झण्डै पाँच दशक लामो राजनीतिक यात्राका क्रममा धेरै उतारचढाव भोगेका यादवलाई भारतमा प्रधानमन्त्री हुनै लागेका नेताका रुपमा चिनिन्छ । उनी सन् १९९६ र २०१४ मा प्रधानमन्त्री हुनै लाग्दा अन्तिममा रोकिनु परेको थियो । उनलाई भारतमा ‘नेताजी’ समेत भन्ने गरिन्थ्यो ।

उनले राजनीति धेरै पटक चुनौतीपूर्ण निर्णयहरु लिएका थिए भने बेला बेलामा विवादमा पनि पर्ने गर्थे । भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेशमा उनी तीन पटक मुख्यमन्त्री बने भने एक पटक केन्द्रीय रक्षामन्त्री समेत भए ।

आम निर्वानचनबाट उनी १० पटक निर्वाचित भएका थिए । ती मध्ये सात पटक लोक सभा सदस्य बनेका थिए । उनी पहिलो पटक सन् १९६७ मा २८ बर्षको उमेरमा विधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनको जन्म सन् १९३९ को नोभेम्बर २२ मा एतावाह जिल्लाको सैफै गाउँमा भएको थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग