जनकपुरधाम । धनुषामा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा हेविवेटका नेताहरुले उम्मेदवारी दिएकाले चुनावको चर्चा बढेको बताइन्छ ।
धनुषा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सहमहासचिव मातृका प्रसाद यादव चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवार भएका पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री यादव यसपटक पनि चुनावी मैदानमा छन् । गत निर्वाचनमा वाम गठबन्धनबाट यादवले २६ हजार ४१४ मत ल्याएर निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरम नेपालका दिपक कार्कीले १७ हजार २८१ मत पाएका थिए ।
उता क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि तीन पूर्व मन्त्रीसहित चार जना बीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट पूर्व कृषिमन्त्री रामकृष्ण यादव, नेकपा एमालेबाट पूर्व संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया, नेकपा(एकीकृत समाजवादी) बाट पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झा र जनता समाजवादी पार्टी(जसपा) बाट गंगाराम यादव चुनावी प्रतिस्पर्धामा छन् ।
मुलुकको राजनीतिक स्थायित्व, स्थिरता, राष्ट्रिय स्वाभिमान, अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तनका लागि आफू उम्मेदवारी दिएको मातृकाले बताए ।
उम्मेदवारी दर्ता अगाडि पनि चुनावको चर्चा हुने गरेको थियो, अब त उम्मेदवारी दर्ता नै भइसकेपछि झन् माहोल चुनावमय बन्यो, जनकपुर–१ का प्रदिप साह बताउँछन् ।
क्षेत्र नं. ३ मा पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का अनिल झाले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् । ०७४ को चुनावमा उनी रौतहट–१ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा)बाट निर्वाचित भएका थिए । नेता झाले २१ हजार ८५ मत ल्याएर निर्वाचित भएका थिए । नेकपा एमाले–जसपा गठबन्धनबाट जुली कुमारी महतोले उम्मेदवारी दर्ता गराएकी छन् । उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत भएकी थिइन् ।
क्षेत्र नं. ४ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांगे्रसका सहमहामन्त्री महेन्द्र यादवले उम्मेदवारी दिएका छन् । पूर्व खानेपानी मन्त्री समेत रहेका नेता यादव ०७४ को निर्वाचनमा पराजित भएका थिए । नेकपा एमालेबाट केन्द्रीय सचिव रघुवीर महासेठले उम्मेदवारी दिएका छन् । ०७४ को निर्वाचनमा महासेठले यादवलाई पराजित गरेर निर्वाचित भएका थिए । पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री समेत रहेका नेता महासेठले २२ हजार ५३२ मत ल्याउँदा नेता यादवले १९ हजार ९ सय ९१ म्त ल्याएका थिए । जनता समाजवादी पार्टी(जसपा) बाट महाजन यादवले उम्मेदवारी दिएका छन् । ०७४ को निर्वाचनमा महाजनले १९ हजार ६६२ मत ल्याएर तेश्रो भएका थिए । यसपाली पनि तीनै नेता बीच प्रतिस्पर्धा रहेको छ ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनले दुई र तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राजपा गठबन्धनले दुई प्रतिनिधिसभा क्षेत्र जितेको थियो भने मधेशवादी दलले चार, वाम गठबन्धनले तीन र कांग्रेसले एक प्रदेशसभा सिट जितेको थियो । यो पटक आ आप्mनो गठबन्धनलाई विजयी गराउने हिसाबले निर्वाचनको तयारीमा दलका नेताहरु जुटेका छन् ।
निर्वाचनको तयारीस्वरुप सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् । पाँच दलीय गठबन्धन र नेकपा (एमाले)–जसपा गठबन्धनले चार क्षेत्र र आठ प्रदेशसभा क्षेत्रमा बैठक राखेर चुनावको रणनीति बनाउनमा जुटेका छन् ।
क्षेत्र नं. ४ मा मंगलबार सत्ता गठबन्धनका नेताहरुले भेला गरेको छ । गठबन्धनको उम्मेदवारलाई जिताउन रणनीति बनाउनमा भेला केन्द्रित रहेको थियो ।
दुई लाख ५२ हजार मतदाता
धनुषामा ३२२ मतदान स्थल र ६०५ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका हुन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech