हरिवन । डेंगु संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सर्लाहीको हरिवनमा लामखुट्टे रहन सक्ने स्थलहरुमा सर्च एण्ड डिस्ट्रोय अभियान सुरु गरिएको छ ।
हरिवन नगरपालिकाले व्यापक रुपमा फैलदैँ गएको डेंगु संक्रमण नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान अन्तर्गत औषधि ‘स्प्रे’ गर्न सुरु गरेको हो । मंगलबार पहिलो दिन हरिवन बजार, नयाँरोडलगायतका स्थानमा लामखुट्टे मार्न औषधि छिट्ने काम भएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिए । चौधरीले जनसंख्या धेरै रहेको र डेंगुको उच्च जोखिम रहेको हरिवन नगरपालिका ११ स्थित बजार क्षेत्रलाई प्राथमिकतामा राखेर औषधि ‘स्प्रे’ गरिएको बताए ।
हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) र हरिवन बजार क्षेत्रमा पर्ने वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजा आफै औषधि छिट्ने र सचेतनामूलक कार्यक्रममा सहभागी भएका छन् । नगरभित्र डेंगुको संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि सचेतना जगाउने, लामुखट्टे रहनसक्ने स्थल पहिचान गरी औषधि ‘स्प्रे’ गर्ने जस्ता अभियान सञ्चालन गरिएको हरिवन नगरपालिकाका नगरप्रमुख बुढाथोकीले बताए ।
यो अभियानसँगै नगरभित्रका अस्पतालमा पुगेर डेंगुका बिरामीको विवरण संकलन गर्न सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मंगलबार नगर अस्पतालको रुपमा रहेको सासापुर स्वास्थ्य चौकीसहित केही निजी अस्पतालमा पुगेर डेंगुका बिरामीको विवरण लिँदा ३७ जना बिरामी फेला परेका स्वास्थ्य शाखा सह–संयोजक चौधरीले बताए । उनले बुधबार पनि नगरभित्रका अन्य अस्पतालमा पुगेर डेंगुका बिरामीको संख्या र उनीहरुको अवस्थाबारे जानकारी लिने बताएका छन् ।
चिकित्सकले डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न सुझाव दिएका छन् । डेंगुको संक्रमण व्यापक हुँदा पनि स्थानीय सरकारको रुपमा रहेका सर्लाहीका पालिकाहरुले कुनै कदम नचालेको भन्दै आलोचना भइरहेको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech