महोत्तरीमा रामकुमार शर्मा, रौतहटबाट धनलाल ठोकरले लिए फिर्ता
जनकपुरधाम । धनुषामा ६ जनाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरु भौतिक रुपमा उपस्थित भई आ आप्mनो नाम फिर्ता लिएका हुन् ।
धनुषा– १ को ‘ख’ मा नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका लक्ष्मीनारायण मण्डल केवटले नाम फिर्ता लिएका छन् ।
यस्तै, सोही क्षेत्रको प्रदेशसभा ‘ख’बाट दुई जना स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । नेत्रदीप लामा र आनन्द मण्डलले प्रदेशसभा सदस्यको लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए । दुबै जनाले उम्मेदवारी फिर्ता लिएको क्षेत्र नं. १ का निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी दिए ।
यस्तै, निर्वाचन क्षेत्र ४ मा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका किसुन यादव र नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिएका राजेन्द्र महतोले उम्मेदवारी फिर्ता लिएका छन् । सोही क्षेत्रको प्रदेशसभा ‘ख’बाट नेकपा माओवादीबाट स्वतन्त्र उम्मेदवारी दिएका रामदुलार महतोले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, महोत्तरी क्षेत्र नं ३ को प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । बुधवार निर्वाचन अधिकृतको कार्यालय जलेश्वरमा उपस्थित भएर शर्माले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले आउँदो मङ्सिर ४ गते हुन लागेको चुनावमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै उम्मेदवारी फिर्ता लिनेमा निर्वाचन क्षेत्र नं. ३ (ख) को तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका सफुदिन अन्सारी पनि छन् ।
क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका कृष्णप्रसाद देवकोटा र क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार रामबाबु साहले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै क्षेत्र नं. १ (क) का स्वतन्त्र उम्मेदवार हरेराम लामा, क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटा, क्षेत्र नं. २ (क) का स्वतन्त्र उम्मेदवार हरिचन यादव, क्षेत्र नं २ कै स्वतन्त्र उम्मेदवार मुरली यादव र क्षेत्र नं. ४ (क) का स्वतन्त्र उम्मेदवार दिनेशकुमार यादवले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ ।
त्यस्तै, पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पर्साका ४ संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिनेहरूमा प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नं १ मा शान्तिदेवि खड्का, सोही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली पार्टीबाट नन्दकिशोर श्रीवास्तव, पर्सा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र स्वतन्त्रबाट महोमद कलिम मन्सुरले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी प्रदेशसभा सदस्य तर्फ १(ख) मा आलम देवन फकिर, ३ (क) मा स्वतन्त्रबाट मनोज प्रसाद यादवले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पर्सामा संघ र प्रदेशसभामा गरेर १६७ जनाको उम्मेदवारी दर्ता भएको थियो । जसमा प्रतिनिधि सभा सदस्य तर्फ ११० जना र प्रदेशसभा सदस्य तर्फ ५७ जनाको उम्मेदवार रहेका छन् । यता, नेपाली काग्रेंसका नेता तथा पुर्व प्रदेश सभा सदस्य धनलाल ठोकरले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।
बुधबार निर्वाचन कार्यालय चन्द्रनिगाहपुरमा गएर पुर्व प्रदेश सभा सदस्य ठोकरले उम्मेद्वारी फिर्ता लिएका हुन् । नेपाली कांग्रेसबाट गएको निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएका ठोकरले यस पटक गठबन्धनका कारण टिकट नपाएपछि रौतहटको क्षेत्र नम्बर ४ को (क) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech