सर्लाही । सर्लाही २ मा सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार महेन्द्र राय यादव रहेको स्पष्ट पारेको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट यादव साझा उम्मेदवार यादव भएको विज्ञप्तिमाफर्त जानकारी गराएको हो ।
चुनावी तालमेलमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट राजेन्द्र महतो उम्मेदवार छन् । महतो र यादव मध्ये सत्ता गठबन्धनको साझा उम्मेदवारबारे अन्योल भएपछि चार दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
यस्तै सर्लाही २ को क मा सुनिल साह र ख मा कौशलकिशोर राय यादव आधिकारिक उम्मेदवार भएको विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सर्लाही २ मा लोसपा नेता राजेन्द्र महतो र माओवादी केन्द्रबाट महिन्द्र राय यादवले उम्मेदवारी दर्ता गरेका थिए ।
गठबन्धनको बुधबारको बैठकले सर्लाही २ मा यादव नै उम्मेदवार भएको भनेको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सामूहिक विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ’सर्लाही जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधिसभामा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार महिन्द्र राय यादव र सर्लाही क्षेत्र नम्बर २ प्रदेशसभा (१)मा सुनिल साह र प्रदेशसभा (२) मा कौशल किशोर राय यादव उम्मेदवार हुनुभएको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’
यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन् । गठबन्धनको निर्देशनबमोजिम उम्मेदवारी फिर्ता लिने ’बागी’ नेताहरूलाई पनि नेताहरूले धन्यवाद दिएका छन् । उनीहरूले मंगलबार विज्ञप्ति जारी गर्दै गठबन्धनमा भएको सहमतिविपरीत दर्ता भएका मनोनयन फिर्ता लिन र फिर्ता नलिए कारबाही गरिने निर्देशन दिएका थिए ।

सम्बन्धित खवर