जनकपुरधाम । नेकपा एमालेको टिकट खल्तीमा राखेर रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले भ्रम फैलाउन थालेका छन् ।
उनले प्रतिनिधिसभा तथा प्रदेश सभामा संगठित रुपमा आफूसहित २५ जनाको उम्मेदवारी परेको दावी गरेका छन् । २५ जना उम्मेदवार आफुले खडा गरेको विभिन्न संचारमाध्यममार्फत नाम समेत सार्वजनिक गरेका छन् । तर उनले दावी गरेका धनुषाका दुईजना प्रतिनिधि सभा सदस्यका उम्मेदवारले अस्वीकार गरेका छन् । धनुषा क्षेत्र नं. १ मा जनमत पार्टीबाट उम्मेदवारी दिएका किशोरी साह कमल र धनुषा क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवारी दिएका हास्य कलाकार कृष्णकुमार महतोले प्रभु साहको उम्मेदवार नरहेको प्रष्ट पारेका छन् ।
धनुषा क्षेत्र नं. १ मा एमालेबाट विद्रोह गरेका किशोरी साह जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । धनुषा १ (क) का प्रत्यक्ष निर्वाचित निवर्तमान प्रदेश सांसद समेत रहेका साहलाई एमालेले टिकट नदिएपछि उनी विद्रोह गर्दै जनमत पार्टीबाट उम्मेदवारी दिएका हुन् । उनले आफू प्रभु साहको गुटबाट उम्मेदवार नरहेको र यो विषयमा प्रभु साहसंग कुनै कुरा पनि नभएको स्पष्ट पारे ।
‘म प्रभु साहको उम्मेदवार होइन । नत म उहाँसंगै एमालेबाट विद्रोह गरेको हुँ । मेरो जित्ने अवस्थामा मेरो संघ र प्रदेश दुबैको टिकट खोसेपछि एमाले छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेको हुँ ।’ उनले भने ।
यस्तै धनुषा क्षेत्र नं.४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हास्य कलाकार कृष्ण महतोले आफ्नो विषयमा प्रभु साह गलत दुस्प्रचार गरेको भन्दै खेद प्रकट गरेका छन् । उनले आफू कुनै संगठन र व्यक्तिको उक्साहटमा नभएर जनताको चाहना अनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech