काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई पदमुक्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।
सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् ।
जसपाबाट मन्त्री भएका चार जनालाई पदमुक्त गरिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छन् ।
त्यस्तै कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ । गोविन्दप्रसाद शर्मा कोइरालाको पदावधि सकिएर उक्त मन्त्रालय रिक्त भएको थियो ।
गएको २० असारमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंह यादव मन्त्रिपरिषद्मा प्रवेश भएका थिए । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रलयको जिम्मेवारी दिइएको थियो । तीनै जना बाबुराम भट्टराईसँग निकट भएर पार्टी विभाजनमै लैजाने तयारीमा थिए । तर अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको आश्वासन दिएपछि उनीहरु जसपामै मिलेर जान तयार भएका थिए ।
जसपाले भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई सरकारबाट फिर्ता बोलाएर उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको थियो । कृषिमन्त्रीबाट महिन्द्र राय यादवलाई हटाएपछि उनी जसपाबाट अलग भएर बाबुराम भट्टराईतिर लागेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech