रौतहट । सत्तारुढ गठबन्धनले रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रभु साहलाई समर्थन गर्ने भएको छ । सिट बाँडफाट गर्दा उक्त निर्वाचन क्षेत्र माओवादीको भागमा परेको थियो ।
त्यहाँ एमालेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीका उम्मेदवार धीरज पटेललाई फिर्ता गराएर गठबन्धनले साहलाई समर्थन गर्ने भएको हो । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट ३ मा साहलाई समर्थन गर्ने निर्णय भएको बताए ।
पार्टी केन्द्रको निर्णयअनुसार रौतहट जिल्ला कमिटीले पनि पटेललाई उम्मेदवारी फिर्ता गरेर साहलाई समर्थन गर्न निर्देशन दिएको माओवादी नेताले बताए । पटेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।
एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो । तर, जसपासँग तालमेल गरेको भन्दै एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै साहले पार्टीको टिकट छोडेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीसँग एमालेले तालमेल गरेकोमा साह असन्तुष्ट रहँदै आएका थिए ।
साहले रौतहट ३ सहित एमाले र जसपाबीचको तालमेलमा जसपाले प्राप्त गरेका सिटमा स्वतन्त्र उम्मेदवार उठाएका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech