कांग्रेसका तीन मन्त्री पदमुक्त
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई पदमुक्त गरेका छन् ।
संघीय सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेशमा मुख्यमन्त्री राउतले पनि कांग्रेसका ३ मन्त्रीलाई पदमुक्त गरेका हुन् ।
कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलाई शुक्रबार पदमुक्त छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि पदमुक्त गरिएको हो । उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह प्रतिनिधिसभा भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली कदमको पक्षमा उभिएपछि मधेस प्रदेसका मुख्यमन्त्री लालबाबु राउतले तत्कालीन राजपाका चार जना मन्त्रीलाई बर्खास्त गरेका थिए । संविधानको धारा १६९ को उपधारा (२) खण्ड ख बमोजिम तीनै जना मन्त्रीलाई पदमुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । तीनै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले सम्हाल्ने भएका छन् ।
प्रतिनिधिसभा विघटनलाई लिएर जसपाको दुई पक्षको विवाद उत्कर्षमा पुगेका बेला २०७८ जेठ २३ मा राउतले ठाकुरनिकट जितेन्द्र सोनल, अभिराम शर्मा, डिम्पल झा र सुरेश मण्डललाई सरकारबाट बर्खास्त गरेर कांगे्रसका मन्त्रीहरु नियुक्त गरेका थिए ।
कांग्रेसले संसदीय दलका नेतासमेत रहेका रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह र ओमप्रकाश शर्मालाई प्रदेस सरकारमा पठाएको थियो ।
सत्ता गठबन्धन छाडेर जसपा नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका थिए ।
संघीय सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएपछि त्यसको असर मधेश सरकारमा परेको हो । जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि कांग्रेसका मन्त्रीहरुलाई पदमुक्त गरेका छन् ।
प्रदेश सरकारमा काँग्रेसका तीन, एकीकृत समाजवदीका २ मन्त्री र एक राज्यमन्त्री, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् । एकीकृत समाजवादी र माओवादीका मन्त्रीहरुलाई मुख्यमन्त्री राउतले निरन्तरता दिएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech