लहान । सिरहाबाट अपहरित एक दलित किशोरको विराटनगरमा हत्या भएको छ । सिरहा गोलबजार नगरपालिका ३ का १७ वर्षीय अंशु सदाको अपहरण पश्चात हत्या भएको हो । सदाको शव शुक्रबार विहान मोरङको विराटनगर महानगरपालिका ११ स्थित न्यू अप्सरा गेस्ट हाउसमा फेला परेको थियो । उनको शव फेला परेको केही घण्टामै मोरङ प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङको रतुवामाई नगरपालिका ५ का २६ वर्षीय मनोज कार्की, धनुषाको कमला नगरपालिका ६ का १९ वर्षीय राकेश ठाकुर र १८ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल छन् । उनी तिनै जना अंशुलाई अपहरण गरी ल्याएको र परिवारले फिरौती नदिँदा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार सिरहाबाट अंशुको २३ गते अपहरण भएको थियो । २४ गते विराटनगरको गेस्ट हाउसमा अंशुलाई राखेको र उनको परिवारसँग १ लाख रुपैयाँ फिरौती रकम माग गरेको खुलेको छ ।
मधेसमा अल्पसंख्यक रहेका मुसहर सबभन्दा गरिब मानिन्छन् । अंशुको फुसको घर छ, तर आफ्नै जग्गासमेत छैन । यद्यपी, अंशुलाई मुक्त गराउन उनको परिवारले १० हजार रुपैयाँ पठाएका थिए । अंशुका आफन्तले पठाएको रकम निकाल्न गएका बेला अपहरणमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरे ।
त्यसपछि अंशुलाई मारेर गेस्ट हाउसमा लुकाएको बयान उनीहरुले दिएको थियो । अंशु अपहरणमा परेको उजुरी उनको आफ्न्तले प्रहरीमा दिएको थियो । अनुसन्धानका क्रममा अंशुको लोकेशन मोरङ देखाएपछि त्यहाँको प्रहरीसँग सिरहा प्रहरीले सहकार्य गरी पत्ता लगाउन प्रयासरत थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech